०८ साउन २०८३, शुक्रबार

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह विशेष हुने

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह विशेष हुने

 गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिकरुपमा सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारीको काम सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आज साँझ पत्रकार सम्मेनल गरी जानकारी दिएको छ । प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधार स्तरोन्नतिलगायतका सबै तयारी पूरा भएको राखेपले जनाएको छ । 

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारासहित पोखरा रङ्गशालाबाट राष्ट्रिय खेलकुदको शुक्रबार अपरान्ह समुद्घाटन गरिने छ । 

असोज २८ देखि कात्तिक ३ गतेसम्मको तोकिएको मितिअगावै केही खेल सुरु भए पनि लामो समयको प्रतिक्षापछि औपचारिक उद्घाटन हुन लागेको छ । उद्घाटन समारोहलाई भव्य र उल्लासपूर्ण बनाउने गरी दुई सातादेखि तयारी गरिएको छ । समारोहमा सातै प्रदेशका संस्कृति झलिक्नेछन् भने पोखरा रङ्गशाला सिँगारिएको छ । राष्ट्रिय खेलकुदको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन पोखरा आइसकेका छन् ।

उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी, विद्यार्थीबाट ड्रिल प्रदर्शन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताए । 

उनका अनुसार केही चुनौतीलाई सामना गरेर प्रतियोगितालाई भव्य बनाउन गर्नुपर्ने सबै काम सकिएका छन् ।
 
समारोहमा सातौँ दक्षिण एशियाली खेलकुदका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्नेछन् । प्रतियोगितामा सहभागी ११ टोलीको मस्कटसहित मार्चपास हुनेछ ।

राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार १५७ जना खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा कूल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३  र कास्य ६०० रहेको परिषद्ले जनाएको छ । 

त्यसैगरी प्रशिक्षक, खेल पदाधिकारी र अफिसियल गरी नौ हजारको प्रतियोगितामा सहभागिता रहने सदस्य सचिव घिसिङले जानकारी दिए । 

उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, सङ्गीत, नृत्य र झाँकीका माध्यमबाट समारोहमा झल्किनेछ । नेपाली सांस्कृतिक विविधतालाई राष्ट्रिय खेलकुदको उद्घाटनले प्रतिनिधित्व गर्नेछ ।

नेपालको भूगोल र ठाउँ विशेषअनुसारको मौलिक संस्कृति प्रस्तुत गर्नेगरी नृत्य र झाँकी प्रदर्शन हुने समारोह उपसमितिले जनाएको छ । उद्घाटन समारोह दुई घण्टाको हुनेछ । प्रदेश नं १ को राई÷लिम्बूको चर्चित साकेला नृत्य, मधेसको सतार र धिमाल जातिको मौलिक नृत्य उद्घाटनमा प्रस्तुत गरिनेछ । 

यसैगरी बागमतीको नेवारी संस्कृति, गण्डकीको कौडा, घाँटु र लोकगीत, लुम्बिनीको थारु संस्कृति, कर्णालीको मगर समुदायको झ्याउरे र सुदूरपश्चिमको हुर्केली गीत र झाँकी प्रस्तुत समारोहमा प्रदर्शन हुने राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य एवं समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले बताए । 

salt training

कमेन्ट गर्नुहोस्