फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार)देखि नयाँ नेपाली चलचित्र ‘हिजोआजका कुरा’ प्रदर्शनमा आएको छ ।
नेपाल टेलिभिजनमा लामो समय प्रशारण भएको चर्चित टेलिसिरियल ‘हिजोआजका कुरा’को नाम सापटी लिएर चलचित्र निर्माण गरिएको हो ।
पन्त फिल्म प्रोडक्सनको प्रस्तुती रहेको चलचित्रलाई सन्तोष पन्त र साकार पन्तले निर्माण गरेका हुन् ।
सन्तोषका छोरा साकारको निर्देशनमा चलचित्र बनेको हो ।
चलचित्रमा टेलिसिरियलकै जोडी सन्तोष पन्त र रमा थपलियासहित दिव्यदेव पन्त, ऋचा शर्मा, रिमा विश्वकर्मा, साकार पन्त लगायतको प्रमुख भूमिका छ ।
चलचित्रले काठमाडौंको आधुनिक परिवारको कथा प्रस्तुत गर्छ ।
विशेषगरी छोराछोरीको विदेश सपना, त्यसले परिवारमा ल्याउने प्रभावलाई चलचित्रले प्रस्तुत गरेको छ ।
शुक्रवारदेखि ‘हिजोआजका कुरा’सँगै अन्य चार विदेशी चलचित्रसमेत प्रदर्शनमा आएका छन् ।
भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘काँतारा’ तथा जापानको ‘वान पिस रेड’ प्रदर्शनमा आएका हुन् ।