२७ असार २०८३, शनिबार

‘लाखे’ चलचित्र महजोडीको ‘महापुरुष’सँग नभिड्ने, अब कात्तिक १८ मा  प्रदर्शन हुने

‘लाखे’ चलचित्र महजोडीको ‘महापुरुष’सँग नभिड्ने, अब कात्तिक १८ मा  प्रदर्शन हुने

कात्तिक ११ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्र ‘लाखे’ एक साता पछि सरेको छ । 

चलचित्र अब कार्तिक १८ गतेदेखि प्रदर्शनमा आउने भएको हो । 

केही समय यता एक हप्ताको अन्तरालमा चलचित्र प्रदर्शन भइरहेका छन् । 

कार्तिक ११ मा ‘महापुरुष’ पनि भएपछि प्रदर्शन मिति फेरबदल गरिएको हो । 

भदौ ३१ गतेलाई रिलिज तय गरिएको ‘लाखे’ प्राविधिक काम नसकिएपछि कार्तिक ११ मा प्रदर्शन हुने तयारीमा थियो ।

‘मह जोडी अभिनित चलचित्रलाई सम्मान गर्दै नयाँ प्रदर्शन मिति तय गरेका हौँ । दर्शकले नेपाली चलचित्रलाई माया गरिरहेको समयमा सम्भावना बोकेका चलचित्रहरू भिड्नु राम्रो होइन,’ चलचित्रका निर्माता डिपी भण्डारीले भने ।

‘लाखे’ चलचित्र युनिटले देखाएको हार्दिकता प्रति ‘महापुरुष’ का कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले कृतज्ञता व्यक्त गरे । 

‘उहाँहरूको निर्णय प्रति आभार व्यक्त गर्दछु । यो समय एकआपसमा मिलेर नै अगाडि बढ्ने हो,’ उनले भने ।

सम्राट बस्नेत निर्देशित चलचित्र ‘लाखे’मा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी लगायतको अभिनय रहेको छ । 

सिजन अर्यालको कथा र निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । 

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्र सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।

निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।

‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन् । 

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रकोे पटकथा आकाश बरालले  लेखेका हुन् भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् ।

चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठले आरआर फिल्मस् मार्फत वितरण गर्दैछन् । 

चलचित्र सस्पेन्स थ्रीलर जनरामा निर्माण भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्