०२ साउन २०८३, शनिबार

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै
प्रतिकात्मक तस्वीर

तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यून रूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दशैंपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो ।

दशैं सकिएलगत्तै ४ दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् । लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिक रूपले काठमाडौं प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ । 

तिहार पर्व नजिकिइसकेको र अर्काेतर्फ मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउन समेत फलफूलका रूपमा स्याउ नै पहिलो रोजाइ हुने गरेका कारण व्यवसायीले फलफूलको आयातलाई प्राथमिकता दिँदै आएको व्यवसायी धर्म पौडेलले बताए । नेपाली व्यापारीले माग गरेलगतै चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले छिटो–छरितो रसुवागढी पुर्‍याउने गरेको व्यवसायीले बताउँदै आएका छन् । 

चालू आर्थिक वर्षको साउनदेखि दशैं अगाडिसम्मको तथ्यांकले १६ कन्टेनर दाँते ओखर, ४ कन्टेनर स्याउ मात्र आयात भएको देखाएको छ । नेपालीको दोस्रो ठूलो चाडपर्व तिहार भएका कारण पछिल्लो समय स्याउका साथै ओखरको आयात बढ्न थालेको हो । अन्य सामानको संख्या सबै गणना गर्नुपर्ने र स्याउ तथा ओखरको शुल्कमा प्रतिकन्टेनरको मात्र हिसाब हुने भएका कारण ढुवानीकर्ताको रोजाइ पहिलो फलफूल हुने गरेको पाइएको छ ।

चीनको केरुङ क्षेत्रमा कोभिड संक्रमण बढेको भन्दै चिनियाँ सीमा अधिकारीले गत साउन २१ गतेदेखि भदौ २९ गतेसम्म बन्द गराएको आयात ३० गतेदेखि पुनः शुरू भएको र पहिलाको तुलनामा आयात परिमाण समेत केही मात्रामा बढेको सीमा अधिकारीले बताएका छन् ।

चालू आर्थिक वर्षको गत साउनदेखि असोज २७ गतेसम्म आयात भएका सामग्रीको मूल्यांकनबाट कूल १ अर्ब ४१ करोड भन्सार शुल्कबापत राजस्व दाखिला भइसकेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्