
छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले नहरको सफाइ शुरु गरेको छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको सहकार्यमा महानगरले नहरको सफाइ शुरु गरेको हो ।
महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए । उनका अनुसार हरेक दिन दुईवटा जेसीबीले नहर सफा गरिरहेका छन् । बिहान ६ बजेदेखि नै सफाइ शुरु हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । एउटा जेसीबीले खार्जीदेखि जामुनगाछीसम्म सफा गर्नेछ भने अर्को जेसीबीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ ।
लामो समयदेखि नहर सफा भएको थिएन । मेयर कोइरालाको पहलमा नहर सफाइलाई तीव्रता दिइएको हो । छठ पर्वमा भक्तजनहरूले नहरमा मण्डप बनाएर पूजा गर्ने गरेका छन् । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले विराटनगरको वडा नम्बर ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ । हरेक शुक्रवार महानगर सफाइ विशेष अभियान पनि सञ्चालन भइरहेको छ ।