
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएको बताएका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा शनिवार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन निश्चित उद्देश्यमा आधारित रहेको बताए । ‘पटक–पटक संसद विघटन भयो र संविधान मिच्ने काम भयो । लोकतन्त्रमाथि प्रहार भयो’, पुनले भने, ‘संविधान र लोकतन्त्र बचाउन सडकमा संघर्ष गरेको शक्तिले सरकार बनायो, अहिले त्यही गठबन्धनको सरकार छ । हामीले निर्वाचनमा सँगसँगै जाने निर्णय गरेका छौं । यो आम जानकारीकै विषय छ ।’
नेता पुनले माओवादी केन्द्र र कांग्रेसको मिलन इतिहासको आवश्यकता भएको औँल्याए । कुनै बेला दुई प्रमुख शक्तिबीच आमने-सामने लडाइँ भएको स्मरण गर्दै उनले अहिले मिल्नु परिस्थितिको आवश्यकता भएको तर्क गरे । ‘हिजो माओवादी र कांग्रेस दुई ध्रुवजस्तो भएर लड्यौँ । त्यतिबेला प्रतिस्पर्धा थियो, अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौँ’, उनले भने ।
पुनले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ताका लागि अपिल गरे । सत्ता गठबन्धनद्वारा सिट बाँडफाँटका लागि गठित कार्यदल सदस्यसमेत रहेका पुनले देशभर करिब दुई सय स्थानमा बागी उम्मेदवारी दर्ता भएकामा अब त्यो संख्या ८/१० जनामा झरेको बताए । उनले रोल्पा (ख) बाट बागी उम्मेदवारी दिएका माओवादी पोलिटब्युरो सदस्य दीपेन्द्र पुन राजनीतिक रुपमा उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन सकारात्मक रहेको जानकारी दिए ।
उक्त प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन उम्मेदवार छन् । उनले देशभर कांग्रेसको सहयोगमा माओवादी उम्मेदवार जित्नुपर्ने अवस्थामा आफूहरूले अवस्था सुदृढ भएको रोल्पा र रुकुजस्ता जिल्ला मात्र हेरेर ढिपी गर्न नहुने उनको भनाइ थियो । ‘हामीले आफू बलियो भएको रोल्पा र रुकुम मात्र हेरेर हुँदैन’, उनले भने, ‘देशभर हाम्रा साथीहरू कांग्रेसको सहयोगमा उम्मेदवार बन्नुभएको छ । उहाँहरूको जितलाई पनि हामीले हेर्नुपर्छ ।’
पुन सत्ता गठबन्धनका तर्फबाट एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पाबाट उम्मेदवार छन् । उनी ०७४ को निर्वाचनमा पनि रोल्पाबाटै प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
फरक प्रसंगमा पुनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका साथै विकास तथा समृद्धि सत्ता गठबन्धनको साझा उद्देश्य भएको उल्लेख गरे । यसका साथै स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिप्रति गठबन्धन आवद्ध सबै दलबीच समान धारणा रहेको बताए । छिमेकी र टाढाका अन्तर्राष्ट्रिय शक्तिसँग आफूहरू मैत्रीपूर्ण र राम्रो सम्बन्ध राख्न चाहेको उनले बताए । तर, नेपालको घरभित्रको मामिलामा भने हस्तक्षेप सह्य नहुने उनको स्पष्टोक्ति थियो ।
जनताका प्रतिनिधिमार्फत संविधान जारी गर्न खोज्दा केही अन्तर्राष्ट्रिय शक्तिले दबाब दिए पनि नेपालका राजनीतिक दल र नेताहरूले त्यसलाई अस्वीकार गरेको स्मरण पुनले गरे । ‘नेपाली जनताले आफ्ना प्रतिनिधिहरूमार्फत संविधान जारी गर्छौंं भन्दा त्यो प्रयासलाई रोक्न केही अन्तर्राष्ट्रिय शक्तिबाट विभिन्न प्रकारका हस्तक्षेप, दबाब र रोकबाट भए’, उनले भने, ‘तर, नेपाली जनताका प्रतिनिधि र नेताहरूले त्यसलाई मानेनौं र संविधान जारी भयो । हामी छिमेकी र टाढाको मित्रहरूसँग मैत्रीपूर्ण र राम्रो सम्बन्ध राख्छौँ तर, आफ्नो घरको निर्णय आफै गर्छौँ ।’
पुनले तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति दिवंगत सुशील कोइराला र आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताले नेपालबारे नेपालीहरूले नै निर्णय गर्ने भन्दै संविधान जारी नगर्न आएको बाह्य हस्तक्षेप अस्वीकार गरेको स्मरण पनि गरे ।