शुक्रवार बंगालको खाडीमा भारतको अरिहन्त पनडुब्बीले के–१५ एसएलबीएम क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।
उक्त क्षेप्यास्त्रले ७५० किलोमिटर टाढा रहेको तारोलाई ध्वस्त पारेको भारतीय जलसेनाका अधिकारीहरूले बताएका छन् ।
भारतको रक्षा मन्त्रालयले यसबारेमा जानकारी दिँदै पानीमुनिबाट पनि आणविक आक्रमण गर्ने क्षमता भारतले विकसित गरेको दाबी गर्यो । यससँगै भारत संसारको छैटौं न्युक्लियर ट्रायड देश बनेको छ ।
कुनै क्षेप्यास्त्रलाई पनडुब्बीबाट प्रक्षेपण गरिएमा सबमरिन लोन्च्ड ब्यालिस्टिक मिसाइल वा एसएलबीएम भनिन्छ । आधुनिक पनडुब्बी ब्यालिस्टिक क्षेप्यास्त्र पानीमाथि र मुनि दुवै ठाउँबाट प्रक्षेपण गर्न सकिन्छ ।
यस क्षेप्यास्त्रले एकैपटकमा अनेकौं तारोमा प्रहार गर्न सक्छ । यसमार्फत आणविक आक्रमण पनि गर्न सकिन्छ ।
यसको दायरा १२ हजार किलोमिटरसम्म छ ।
भारतले परीक्षण गरेको एसएलबीएमले ७५० किलोमिटर टाढासम्मको तारोमा प्रहार गर्न सक्छ ।
रक्षा मन्त्रालयका अनुसार, कुनै पनि क्षेप्यास्त्रको सफल परीक्षणका लागि दुईवटा मापदण्ड हुन्छन् ः अपरेसनल र टेक्निकल ।
यी दुवै मापदण्डमा यो क्षेप्यास्त्र सफल रहेको रक्षा मन्त्रालयको दाबी छ ।
त्यसअघि भारतले ३५ सय किलोमिटर टाढासम्मको तारोलाई विनाश गर्ने ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण पनि पूरा गरिसकेको छ । यसलाई आयुधागारमा राख्ने तयारी हुँदैछ ।
भारतको यो हतियार क्षमताले पाकिस्तानलाई चिन्तित बनाएको हुनुपर्छ । विशाल हिन्द महासागरमा घुमिरहेका पनडुब्बीमार्फत पाकिस्तानलाई सधैंभरि आणविक जोखिममा राख्नका लागि भारत समर्थ हुनेछ ।
त्यही डरले पनि पाकिस्तानले भारतमाथि आणविक हतियार प्रहारको सोच नबनाउने भारतीय रणनीतिकारहरूको अनुमान छ ।
न्युक्लिय ट्रायडमार्फत आणविक हतियारको सन्तुलनलाई नै आणविक निवारण विकसित गर्नु भनिन्छ ।
वास्तवमा आणविक हतियार उपयोगका लागि भन्दा पनि शत्रुलाई निवारण गर्नका लागि बनाइएका हुन्छन् । शान्ति कायम गर्नका लागि आणविक हतियार आवश्यक भएको यसका पक्षधरहरू बताउँछन् ।