२४ असार २०८३, बुधबार

थुम्पाखरमा व्यवसायिक कालिजपालन

थुम्पाखरमा व्यवसायिक कालिजपालन
फाइल तस्वीर

जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन शुरू गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जङ्गली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिकरुपमा पालन शुरू गरिएको हो ।

विशेष गरी पहाडी भेगभन्दा माथिल्लो स्थानमा पाइने जङ्गली कुखुरा (कालिज)को मासुको माग स्थानीयस्तरमा बढेको छ । 

लेक तथा पहाडी जङ्गलीमा पाइने जडीबुटी खाएर हुर्कने कालिजको चोरी सिकारी हुँदा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाले घरमै कालिजको व्यावसायिक पालन गरेका हुन् । 

गाउँमै रोजगारीको वातावरण सिर्जना पनि हुने र युवालाई विदेश पलायन रोक्ने उद्देश्यले कालिजपालन शुरू गरिएको हो । 

स्थानीय युवा मिलेर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा कालिज व्यवसाय थालनी गरिएको रामचन्द्र कार्कीले जानकारी दिए । 

उनले भने,'जङ्गलीमा पाइने कालिजलाई लुकीछिपी चोरी सिकारी हुन्छ, यसको रोकथाम हुनुपर्छ भन्ने हामीले ठानेका छौँ ।' 

उनले जङ्गली कालिजकै स्वाद दिलाउने हेतुले घरमै कालिजपालन शुरू गरिएको बताए । गाउँकै अन्नलाई दानाको रुपमा प्रयोग गरेकाले जङ्गलीमा पाइने कालिजको जस्तै स्वाद पाइने उनको दाबी छ ।

यो व्यवसाय गाउँमै रहेका सात कार्की परिवारका युवा मिलेर गरेका हुन् । उनीहरुले व्यवसायलाई भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि नामकरण गरेका छन् । 

साँगाबाट रिङनेट जातको कालिजको ५३ चल्ला ल्याएर शुरू गरिएको हो । कालिज अहिले मासुका लागि योग्य भइसकेको जनाइएको छ  ।

जङ्गलीमा देखेको कालिज काभ्रेको साँगा र पोखरामा रहेको साथीहरुको फार्ममा पालेको देखेपछि हाइड्रोपावर व्यवसायी रामचन्द्रको मनमा पनि आफ्नो गाउँमा कालिज पालन व्यवसाय गर्ने सोच पलाएपछि आफ्ना दाजुभाइको सल्लाहअनुसार व्यवसाय शुरू भएको हो ।

उनका  अर्का साझेदार यज्ञराज कार्कीका अनुसार मासुका लागि कालिज मात्र नभएर अण्डा र चल्लासमेत उत्पादन गर्ने लक्ष्यका साथ व्यवसायमा शुरू गरिएको हो ।

'हामी मासुका लागि कालिजसहित चल्ला र अण्डा उत्पादनलाई पनि जोड दिन्छौँ', उनले भने, 'हामी मात्रै नभएर सिङ्गो गाउँ र आसपासलाई कालिजको हब बनाउने हाम्रो लक्ष्य हो ।'

राजधानीका विभिन्न रेष्टुराँमा मात्र नभई जिल्लाकै सुकुटेलगायतका पर्यटकीय क्षेत्रका होटलले कालिज उपलब्ध गराउन आग्रह गरेको अर्का सञ्चालक मधुराम कार्की बताए । 

राम्रो उत्पादन नै शुरू नभई पर्याप्त माग आउन थालेको उनले बताए । उहाँहरु कालिज हेर्न आउने आन्तरिक पर्यटकलाई होमस्टेको व्यवस्था गरी घरमै कालिजको मासु खाने प्रबन्ध मिलाउने तयारीमा समेत लागेका छन् । 

कालिज पालन शुरू गरेसँगै उनीहरूले केही समस्या पनि झेलिरहेका छन् ।

कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ नहुँदा कुखुरालाई गर्ने उपचार गराउनुपरेको रामचन्द्रले गुनासो गरे । 

अन्य मुलुकमा कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ भए पनि नेपालमा अझै यसको व्यवस्था हुन नसकेको उनको गुनासो थियो ।

कालिजको बीमा गर्ने व्यवस्था नहुँदा जोखिमसमेत आफैँले व्यहोर्नुपर्ने अवस्था रहेको यज्ञले बताए । 

'कालिजको बीमा गर्ने कुरा गर्दा ब्रोइलर कुखुराको मूल्यमा गर्नुपर्ने रहेछ', उनले भने'त्यो मूल्यमा बीमा गर्दा त कालिजको मूल्यको पाँच प्रतिशत पनि जोखिम बहन हुँदैन ।' 

उपचार सेवा र बिमाको व्यवस्था गर्न उहाँहरुले सरकारसँग माग गरेका छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्