१२ साउन २०८३, मंगलबार

ब्यापारमा किन चुक्यो ‘हिजो आजका कुरा’ ?

ब्यापारमा किन चुक्यो ‘हिजो आजका कुरा’ ?

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘हिजो आजका कुरा’ले बक्सअफिसमा निराशाजनक शुरुवात गरेको छ । चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रवार र दोस्रो दिन शनिवारसमेत राम्रो व्यापार गर्न सकेन । कमजोर शुरुवातकै कारण मल्टिप्लेक्सले आइतवारदेखि चलचित्रको शोज समेत घटाएका छन् । कुनै समयको निकै चर्चित टेलिसिरियलको नाम सापटी लिएर सन्तोष पन्तले ‘हिजो आजका कुरा’ चलचित्रको निर्माण गरेका हुन् ।

साकार पन्तको निर्देशन रहेको चलचित्रमा मल्टिस्टार कलाकारहरूको अभिनय छ । चलचित्रमा समावेश ‘माया जदौ’ बोलको गीत यसअघि नै सुपरहिट भइसकेको थियो । तरपनि, चलचित्रले राम्रो व्यापार गर्न सकेन ।  चलचित्रले राम्रो व्यापार गर्न नसक्नुको कारण कमजोर पटकथा र मेकिङ मानिएको छ । आधुनिक परिवारको कथा भनिएको चलचित्र पुरानै शैलीमा निर्माण गरिएका कारण चलचित्रलाई दर्शकले रुचि नदिएको हुनसक्ने चलचित्रकर्मीहरू बताउँछन् । 

निर्माता एवं अभिनेता सन्तोष पन्त भने आफूहरू चलचित्र निर्माणमा कुनै कुरामा नचुकेको दाबी गर्छन् । उनले लोकान्तरसँग भने, ‘निर्माणमा चुकेकै छैनौँ । चलचित्र हेर्न जति पनि दर्शक आउनुभएको छ, नराम्रो कोहीले भन्नुभएको छैन ।’ 

उनले चलचित्रले अपेक्षाकृत व्यापार गर्न नसकेको भने स्वीकार्छन् । उनी स्वयं द्विविधामा रहेको बताउँदै भन्छन्, ‘खोइ के भयो ? प्रचारप्रसार पुगेन कि के पुगेन् बुझनै सकिएन ।’ यद्यपि, आफूहरूले प्रचार–प्रसार पनि राम्रैसँग गरेको पन्तको भनाइ छ । दर्शकहरूले आफू अनुकूल समयमा चलचित्र हेर्ने भनेर बसेको हुने तर त्यतिञ्जेल हलले चलचित्र उतारिसकेको हुनसक्ने बताए । ‘चलचित्र लागेको छ । केही दिन चल्छ नी भन्ने दर्शकहरूमा हुन्छ । आफू अनूकूल समयमा ७÷८ दिनपछि हेर्न जाउँला भन्ने दर्शकहरूमा हुने गरेको रहेछ । तर, त्यतिञ्जेल हलले चलचित्र झिकिसकेको हुनसक्छ’ उनले भने । 

सोहीकारण चलचित्र विस्तारै हेरौँला भनेर नबस्न समेत दर्शकहरूलाई उनी आग्रह गर्छन् । चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव, साकार पन्त, रिमा विश्वकर्मा, जेविका कार्कीलगायतको मुख्य भूमिका छ ।

कमेन्ट गर्नुहोस्