
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । सोमवार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् ।
केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याईं नगर्न पनि आग्रह गरे । उनले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उनको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्नसक्ने पनि स्पष्ट पारे । उनले आचारसंहिता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरूको भूमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको बताए ।
आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरूले आचारसंहिता उल्लंघन गरेको उजुरीहरू आएकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि निर्देशन दिए । आचारसंहिता पालना भएको नभएमा कठोरतापूर्वक कारबाही गर्नुपर्ने उनले बताए ।
‘यदी घरदैलो कार्यक्रममा जाँदाखेरी आचारसंहिता उल्लंघन गरेको छ भने यहाँहरूले कठोर कारबाही गर्न सक्नुहुन्छ । दलहरूको आचारसंहिता उल्लंघन गर्ने हर्कतलाई नियन्त्रण गर्ने प्रयोजनका लागि यहाँहरू प्रहार गर्नलाई कुनै पनि पछि नपर्नुस् । यसको सम्पूर्ण जिम्मा आयोगले लिन्छ । यहाँहरूले गरेको सम्पूर्ण कारबाही, नियन्त्रणलगायतका विषयवस्तुहरू आयोगले गरेको हो । किनभने अहिलेको सन्दर्भमा यहाँहरू र आयोग छुट्टाछुट्टै पाटा होइनन् । यहाँहरूले गर्ने निर्णय आयोगले गर्ने निर्णय हो’, उनले भने, ‘यहाँहरूले दिने निर्देशन आयोगले दिने निर्देशन हो । यहाँहरूले गर्ने कार्यक्रममा आयोगले स्वामित्व ग्रहण गर्छ । मैले यसमा यो हदभन्दा बढी जानु हुँदैन कि भनेर हात कमाएर नबस्नुस् । आचारसंहिता उल्लंघन भएको छ भने कठोरतापूर्वक निर्मम प्रहार गरेर कारबाही गर्नुस् । त्यो आयोगले कारबाही गरेको ठहर्छ ।’
आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सम्बन्धमा कानूनमा अस्पष्टता भएमा निर्वाचन आयोगमा लेखेर पठाउन पनि अनुरोध गरे ।