न्युजील्यान्डमा गाईको डकार तथा अन्य हरितगृह ग्यास उत्सर्जनमा कर लगाउने सरकारको योजनाविरुद्ध बिहीवार किसानहरूले सडक आन्दोलन गरेका छन् ।
तर जति अपेक्षा गरिएको थियो, त्यति ठूलो संख्यामा जुलुस निस्केन । ग्राउन्डस्वेल न्युजील्यान्ड समूहको सहायताले देशभरिका बस्ती र शहरहरूमा ५० भन्दा ढबी विरोध प्रदर्शन गरिएका थिए ।
गत साता सरकारले जलवायु परिवर्तनको व्यवस्थापनका लागि नयाँ कृषि कर लगाउने प्रस्ताव राखेको थियो । गाईको डकारमा पनि कर लगाउने योजना त्यसमा समावेश छ । गाईको डकारबाट मिथेन ग्यास निस्कन्छ र प्रदूषण फैलाउँछ ।
न्युजील्यान्डमा अत्यधिक मानिस कृषि पेशामा छन् । देशको जनसंख्या लगभग ५० लाख छ तर एक करोड भन्दा बढी त गाईभैंसी नै छन् । अनि २.६ करोड त भेडा छन् ।
देशका सबै हरितगृह ग्यास उत्सर्जनको आधा भाग खेतबाट हुन्छ । त्यसमा पनि गाईवस्तुले डकार्दा निस्कने मिथेनको योगदान सबभन्दा धेरै छ ।
कर लगाएर किसानहरूको ढाड नभाँच्न विरोधकर्ताहरूले सरकारलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री जेसिन्डा आर्डर्नले सन् २०५० सम्म देशलाई कार्बन उत्सर्जनमुक्त बनाउने योजना सार्वजनिक गरेकी छन् । योजनाअन्गर्त सन् २०३० सम्म गाईवस्तुबाट हुने मिथेन उत्सर्जन १० प्रतिशत र सन् २०५० सम्म ४७ प्रतिशतसम्म घटाउने योजना छ ।