
देशको अर्थतन्त्रको अवस्था दर्शाउने प्रमुख सूचक विदेशी मुद्रा सञ्चिति ७ करोड डलरले घटेको छ । साउनको तुलनामा भदौमा घटेको यस्तो डलर सञ्चितिसँगै नेपालको आयात धान्न सक्ने क्षमता पनि ८ महिनाबाट घटेर ७.७ महिनामा झरेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौसम्ममा २.२ प्रतिशतले घटेको छ । भदौमा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा झरेको छ ।
अमेरिकी डलरमा यस्तो विदेशी मुद्रा सञ्चिति गत असारमा ९ अर्ब ५४ करोड डलर रहेको थियो । यस्तो सञ्चिति भदौसम्ममा आइपुग्दा २ प्रतिशतले घटेर ९ अर्ब ३५ करोड डलरमा सीमित भएको छ । यस्तो विदेशी मुद्रा सञ्चिति साउनको तुलनामा भदौमा ७ करोड डलरले घटेको देखिएको छ । साउनमा ९ खर्ब ४२ करोड डलरको सञ्चिति रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र १० खर्ब ५१ अर्ब ५३ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)मा यस्तो मुद्रा १ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ मात्रै छ ।
चालू आवको पहिलो दुई महिनामा महँगीदर (मुद्रास्फीति) ८.६४ प्रतिशत पुगेको छ । यस्तो महँगीमा सबैभन्दा बढी फलफूलमा १७ प्रतिशत पुगेको छ । घ्यू-तेलमा भने यस्तो मूल्यवृद्धि १४.५३ प्रतिशत रहेको छ ।
यो अवधिसम्ममा मुलुकको शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा छ । नेपाल भित्रने आम्दानीभन्दा बाहिरिने खर्च बढी भएका कारण शोधनान्तर स्थिति घाटामा गएको हो । यो अवधिसम्ममा मुलुकको चालू खाता पनि ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा छ ।