
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरू अहिले विभिन्न बहानामा जुर्मुराइरहेको बताए ।
अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरूलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताए । उनले देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरुमा निराशा छाएको भन्दै शीर्ष तहले यसको उचित सम्बोधन गर्न जरुरी रहेको बताए । उनले आगामी ५ वर्ष राजनीतिक स्थिरता कायम गरी देश विकासका लागि खर्च गर्ने समय रहेको बताए ।
भट्टराईले प्रतिगमन रोक्नका लागि पनि आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताए । उनले तत्काल गठबन्धनका कुनै विकल्प नरहेको पनि दाबी गरे । उनले निर्वाचन गठबन्धन दललाई कुनै पनि हालतमा जिताउनै पर्ने भन्दै देशका लागि आगामी ५ वर्ष स्थिरता र असन्तोषलाई पूरा गर्ने समय भएको बताए ।
उनले विगतका कमजोरीलाई आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको बताए । भट्टराईले एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरूले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको ताना-बाना बुनिरहेको आरोप लगाए । उनले पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको दाबी गरे ।
‘अहिले प्रतिगमनको नेतृत्व गरिरहेको जुन शक्ति छ, त्यसले नेपालको वामपन्थी आन्दोलनको मूलधार पुष्पलालहरुले नेतृत्व गरेको जुन धार हो, त्यो भन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका जुन शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको ताना-बाना बुन्दैछन्, त्यो अत्यन्त घातक छ’, भट्टराईले भने, ‘हामीले त्यो खतराबाट बच्नुपर्छ । पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय प्रचण्ड र बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त छ ।’