०९ असार २०८३, मंगलबार

किन यत्ति छिट्टै राजीनामा दिन बाध्य भइन् बेलायती प्रधानमन्त्री ट्रस ? यस्ता छन् ५ कारण

कात्तिक ४, २०७९
किन यत्ति छिट्टै राजीनामा दिन बाध्य भइन् बेलायती प्रधानमन्त्री ट्रस ? यस्ता छन् ५ कारण

पदबहाली गरेको डेढ महिना पनि बित्न नपाउँदै बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बिहीवार पदबाट राजीनामा दिएकी छन् । 

सत्तारूढ दल कन्जर्भेटिभ पार्टीमा विद्रोहको स्थिति आएपछि उनले राजीनामा दिएकी हुन् । बेलायतको इतिहासमा ट्रस सबभन्दा कम कार्यकाल चलाउने प्रधानमन्त्री हुन् । 

ट्रसले पदबहाली नै भूतले खाजा खाने बेलामा गरिन् । बेलायतमा लामो समयदेखि आर्थिक सुस्तताको अवस्था छ भने महंगी दर दोहोरो अंकमा बढेको छ । 

ट्रसले राजीनामा गर्नुपर्ने पाँच कारण यस्ता छन् :

मिनी बजेट

कन्जर्भेटिभ (टोरी) हरूले बोरिस जोनसनलाई विस्थापित गर्ने नेताको खोजी गरिरहँदा ट्रसले व्यापक मात्रामा करकटौती गरी आर्थिक वृद्धिको पुनरुत्थान गर्ने प्रतिज्ञाका साथ चुनावनी अभियान चलाएकी थिइन् । महंगीको मारमा परेका जनतालाई ऊर्जाको कम महसुल तिर्नुपर्ने प्रत्याभूति पनि उनले दिएकी थिइन् । 

उनका प्रतिस्पर्धी पूर्व अर्थमन्त्री ऋषि सुनकले करकटौती तथा सरकारी खर्चवृद्धिले विनाशको ढोका खोल्ने भनी लगातार चेतावनी दिएका थिए । 

सेप्टेम्बर २३ मा ट्रसका अर्थमन्त्री तथा पुराना मित्र क्वासी क्वार्टेङले संसदमा मिनी बजेट पेश गरे । त्यसमा उनले सरकारी खर्च बढाउने र करकटौती गर्ने घोषणा गरे । त्यस कदमले ल्याएको शृंखलाबद्ध परिणामका कारण ट्रसको पतन भयो । 

सुनकले पूर्वानुमान गरेझैं यस बजेटले सरकारी ऋण ह्वात्तै बढायो । ऐतिहासिक महंगीको सामना गरिरहेको बेलायतका लागि यो अत्यन्तै खराब स्थिति बन्यो । 

बजारको प्रतिक्रिया

मिनी बजेटले बजारलाई निकै तर्सायो किनकि बेलायतको आर्थिक वृद्धिको सम्भावना कमजोर भएको बेलामा सरकारले टन्नै ऋण काढ्न लाग्दा पछि ऋण तिर्न सक्छ कि सक्दैन भन्नेमा बजार विश्वस्त हुन सकेन । आत्तिएका लगानीकर्ताहरूले सबै एसेटहरू बेचे । परिणामस्वरूप, बेलायती मुद्रा पाउन्ड स्टर्लिङ अमेरिकी डलरको तुलनामा ऐतिहासिक रूपमा घट्यो । यसले गर्दा आयात महंगो भयो अनि मूल्यवृद्धि आकासियो । 

बेलायत सरकारलाई ऋण दिन अनिच्छुक लगानीकर्ताहरूले सरकारी ऋणपत्र बेच्न थाले । ऋणपत्रको मूल्य घटेपछि ब्याजदर आकासियो । यसले गर्दा अर्थतन्त्र नै धराशायी हुन लागेपछि बेलायतको केन्द्रीय बैंकले हस्तक्षेप गर्‍यो । 

निवृत्तिभरण कोष तथ धरौटी दर

मिनी बजेट तथा ऋणपत्रको मूल्यमा कमीका कारण बेलायतमा निवृत्तिभरण कोषमा संकट आयो । 

ब्याजदर ह्वात्तै बढ्ला भनी निवृत्तिभरण कोष व्यवस्थापकहरूले अनुमान गरेका थिएनन् । तर अचानक ब्याजदर बढ्दा उनीहरूको ऋणपत्रको मूल्यहीन हुन थाल्यो । त्यसले व्यापक मात्रामा डर फैलायो र निवृत्तिभरण कोषको व्यावहारिकतामा शंका उत्पन्न गरायो । 

बजारमा ब्याजदर ह्वात्तै बढ्दा घर बनाउन ऋण लिएकाहरूले कि त रिफाइनान्स गर्नुपर्‍यो, कि त घर गुम्ने जोखिम भयो । घर किन्न खोज्नेहरूले नयाँ ऋणदर बेपत्तै महंगो भएको थाहा पाए । 

बेलायतमा लाखौं मानिसलाई जीवनयापन गर्नै धौधौ भइरहेको बेलामा यस्तो स्थिति आयो । ऊर्जाको मूल्य ह्वात्तै बढिरहेकोमा आउँदो जाडोमा कसरी न्यानो भएर बस्ने भनी मानिसहरू चिन्ता व्यक्त गरिरहेका छन् ।

विपक्षी लेबर दलले ट्रसको खराब आर्थिक नीतिका कारण घर हुनेहरूको ब्याजदर बढेको भनी शहरभरि सन्देश फैलायो । 

निर्णयमा घरिघरि परिवर्तन

ट्रसले गल्ती स्वीकार नगरुन्जेल बजारले बेलायतको एसेटलाई दण्डित गरिरहने स्पष्ट भएपछि उनले अचानक निर्णय परिवर्तनका घोषणा गर्न थालिन् । महाधनीहरूलाई कर कटाउने आफ्नो महत्त्वपूर्ण निर्णयबाट उनी पछि हटिन् । अर्थमन्त्रीलाई बर्खास्त गर्नु सबभन्दा ठूलो धक्का साबित भयो । 

यस कदमलाई बजारले सकारात्मक रूपमा लिएको भए पनि यसले राजनीतिक प्रश्न जन्मायो ः ट्रसकै आर्थिक योजनालाई अभिव्यक्त गर्ने क्वार्टेङलाई हटाएपछि ट्रस पदमा रहनुको के औचित्य ? यस प्रश्नको ठोस उत्तर आएन । 

नयाँ अर्थमन्त्री

नवनियुक्त अर्थमन्त्री जेरेमी हन्टले चालेका कदमले ट्रसको अन्तिम धुकधुकी पनि सिध्याइदियो । कन्जर्भेटिभ पार्टीको प्रमुखको प्रतिस्पर्धामा हन्ट सुनकको पक्षमा थिए । 

अर्थमन्त्री बनेपछि हन्टले ट्रसका सबै एजेन्डालाई चकनाचुर बनाइदिए । ट्रस प्रधानमन्त्री भए पनि शक्ति हन्टसँग छ भन्ने कुरा स्पष्ट भयो । त्यसपछि त ट्रसको राजीनामा औपचारिक हुने पक्का भयो । 
 

salt training

कमेन्ट गर्नुहोस्