
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार करिब ४ घण्टा सर्वसाधरणसँग फोनमा सम्वाद गरेका छन् । ‘कल केपी बा’ नाम दिइएको उक्त कार्यक्रमअन्तर्गत ओलीले ४ घण्टासम्म फोनमा कुराकानी गरेका हुन् ।
ओलीले फोनमा कुराकानी गर्नका लागि फेसबुकको इनबक्समा फोन नम्बर दिन आग्रह गरेका थिए । इनबक्समा नम्बर दिएकामध्ये केहीसँग कुराकानी भएको ओलीको सचिवालयले जानकारी दिएको छ । ओलीसँग कुराकानी गर्नका लागि २ लाख ९ हजार ११६ जनाले नम्बर टिपाएको उनको सचिवालयले जानकारी दिएको छ ।
नम्बर टिपाएकामध्ये गोलप्रथाबाट नम्बर छनोट गरी ओलीले फोन गरेका थिए । नम्बर टिपाएका अन्यसँग आगामी दिनमा कुराकानी गर्ने ओलीले सामाजिक सञ्जालमै लेखेका छन् । उनले लेखेका छन्, ‘कल केपी बा कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरेँ । तपाईंहरूसँग भएका कुराकानीले म उत्साहित छु । दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु ।’