
हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौं ठमेलस्थित होटल अलफ्टमा शुक्रवार कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।
सभाले सामान्य प्रस्तावअन्तर्गत अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका विवरणहरू पनि पारित गरेको छ ।
साधारण प्रस्तावअन्तर्गत आगामी आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति तथा सञ्चालकको पारिश्रमिक तथा भत्तासमेत निर्धारण गरेको छ ।
कम्पनीको साधारण सभाले विशेष प्रस्तावअन्तर्गत प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
त्यस्तै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय समेत सर्वसम्मतिले पारित गरेको छ ।
साधारण सभाको अवसर पारेर कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्ष शेखर गोल्छाले कम्पनीले स्थापनाको दोस्रो वर्षमा नै अद्वितीय उपलब्धी हासिल गर्न सफल भएकोे बताए । उनले कम्पनीका व्यवस्थापनलगायत अन्य सम्पूर्ण कर्मचारीहरूप्रति कृतज्ञतासमेत व्यक्त गरेका थिए ।