
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विशेष परिस्थितिलाई सम्हाल्दै देशको विकासका लागि अग्रगामी शक्ति एक भएको बताएका छन् । शुक्रवार पोखरामा आयोजित सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
उनले आगामी निर्वाचनमा जनतालाई निशंकोचपूर्वक देश विकासका लागि अग्रगामी शक्ति एक ठाउँमा उभिएको जानकारी दिनुपर्ने बताए । उनले गठबन्धन एक भइरहँदा प्रतिपक्ष दलहरूले माओवादी र कांग्रेसको विषयमा विरोधी कुराहरू ल्याइरहेको भन्दै त्यसलाई गठबन्धनका दलले चिर्न सक्नुपर्ने बताए । मुख्यमन्त्री पोखरेलले मुलुकमा परिवर्तन गर्ने दुई शक्ति भनेको नेपाली कांग्रेस र माओवादी तथा एकीकृत समाजवादी रहेको दाबी गरे ।
‘हामी निरंकुशताविरुद्ध लडेका थियौँ । बीचमा सामान्य अवस्थामा देश गयो । अहिले विशेष परिस्थिति भएको हुनाले फेरि हामी एक ठाउँमा छौँ । यसको जस्टिफिकेशन मुख नबिगारीकन निशंकोचतापूर्वक आज अग्रगामी शक्ति एक ठाउँमा छन् भनेर हामीले जनताको बीचमा जानसक्नुपर्छ । आज हामीलाई अट्याक के हुन्छ, प्रतिपक्षले साधारण मतदातालाई के भन्छ ? माओवादी र कांग्रेसको विषयमा विरोधी कुराहरू ल्याएको छ’, उनले भने, ‘यो मुलुकमा परिवर्तन गर्ने दुई वटै शक्ति एउटा लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस र अर्को वामपन्थी शक्ति हो जसको मूलधारमा अहिले आएर माओवादी र एकीकृत समाजवादी आएको छ । यो संयुक्त प्रयत्नले मुलुकमा परिवर्तन ल्याएको छ र अहिलेको संविधानमाथिको निर्ममतापूर्वक भएको अतिक्रमण भएको छ, प्रतिगमन भएको छ, त्योविरुद्ध हामी एक ठाउँमा रहनु हाम्रो स्वभाविक प्रक्रिया हो ।’
मुख्यमन्त्री पोखरेलले संविधानमाथिको अतिक्रमण र प्रतिगमनविरुद्धमा एक जुट हुनु स्वभाविक भएको बताए ।