काठमाडौं, २२ पुस-राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय एकता कायम गरेर संविधान कार्यान्वयनतर्फ गम्भीर बन्न शीर्ष नेताको ध्यानाकर्षण गराएकी छन्, आजको राजधानीले खबर छापेको छ । राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका शीर्ष नेतालाई बिहीबार साँझ शीतल निवास बोलाएर संविधान संशोधन, संसद् सुचारु, निर्वाचन मिति तथा निर्वाचन कानुनका विषयमा चासो राख्दै समस्या समाधानका लागि गम्भीर बन्न ध्यानाकर्षण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूलाई अहिलेसम्म कानुन बन्न नसकेको अवस्थामा कसरी तीनै तहको निर्वाचन हुन्छ भनेर प्रश्न गरेकी थिइन् । ‘७ माघ ०७४ आउन अब धेरै समय बाँकी छैन, निर्वाचनसँग सम्बन्धित कानुनसमेत बनाउन सक्नुभएको छैन, निर्वाचन आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्, कसरी निर्वाचन गर्नुहुन्छ ?’ नेताहरूसँग राष्ट्रपतिको प्रश्न उद्धृत गर्दै सहभागी एक नेताले भने । उनका अनुसार राष्ट्रपतिले संविधानको मर्मअनुसार प्रमुख दल अघि बढ्न नसकेकामा गम्भीर चिन्ता व्यक्त गर्दै निर्वाचन नगरी ०७४ माघ आउने अवस्था त हुँदैन भनेर प्रश्न गरेकी थिइन् ।
छलफलमा राष्ट्रपतिले संविधानको मर्मअनुसार अघि बढ्दै राष्ट्रिय समस्या समाधान गर्न दलहरूलाई आग्रह गरेको राष्ट्रपतिका प्रेसविज्ञ माधव शर्माले जानकारी दिए । ‘निर्वाचनको तयारी के छ, दलीय एकताबिना संविधान कार्यान्वयन सम्भव छैन । संविधानको मर्मअनुसार तपाईंहरू अघि बढ्नुस्,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै प्रेसविज्ञ शर्माले भने । निर्वाचन आयोगले संविधान कार्यान्वयनका लागि गर्नुपर्ने तीनै तहको निर्वाचनका लागि आवश्यक कानुन नबनेको, आयोगका पदाधिकारी नियुक्त हुन नसकेकोलगायतका विषय समेटेर प्रतिवेदन बुझाएपछि दलहरूलार्ई बोलाएर राष्ट्रपतिले छलफल गरेकी हुन् ।