
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरू सुर्खेतको वीरेन्द्रनगर पुगेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतवार आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण एवं भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालसहित शीर्ष नेताहरू वीरेन्द्रनगरमा पुगेका हुन् ।
उनीहरू सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको संयुक्त भेलालाई सम्बोधन गरेर वीरेन्द्रनगर पुगेको नेपाली कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले जानकारी दिए । उनका अनुसार भेलामा कर्णाली प्रदेशका दशवटै जिल्लाका उम्मेदवार तथा प्रत्येक दलबाट प्रतिनिधिमूलक नेताहरूको सहभागिता छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूले गण्डकी, लुम्बिनी, प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गरिसकेका छन् ।