
दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिवार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आइतवार दिउँसोसम्म पनि नभेटिएका हुन् ।
घटनास्थलमा रहेका उक्त कार्यालयका प्रहरी नायब निरीक्षक वीरबहादुर भण्डारीका अनुसार उनीहरू डुबेको स्थान गहिरो भएको र त्यहाँ जाली पनि भएकाले जालीमा अड्किएको हुनसक्ने भएकाले पनि भेटाउन गाह्रो भएको छ । स्थानीयवासीले पानी मुनि गएर खोज्दा पनि भेटाउन सकेका छैनन् । बेपत्ताको खोजीका लागि बाँकेको शम्शेरगञ्जबाट गोताखोरको टोली आउन लागेको छ । साढे १२ बजेतिर शम्शेरगञ्जगबाट उक्त टोली हिँडेको उनले बताए ।
शनिवार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ सिमलकुुना निवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामाघर आएकी अन्दाजी १४÷१५ वर्षीया गोमाचन्द बगेर बेपत्ता भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका–११ र दंगीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए । तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएको र अर्की दंगीशरण–२ सिमलकुना निवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन् । उनीहरू दुबैजना डुबेपछि निरुताले स्थानीयवासीलाई खबर गरेकी थिइन् । स्थानीयवासीले प्रहरीलाई बोलाएको थियो । रासस