०५ साउन २०८३, मंगलबार

समानुपातिक मतपत्र आइपुग्यो

कात्तिक ७, २०७९
समानुपातिक मतपत्र आइपुग्यो

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा समानुपातिक तर्फको मतपत्र आइपुगेको छ ।

निर्वाचन आयोगले नेपाली सेनाको सुरक्षा घेरामा तनहुँका लागि समानुपातिक तर्फको मतपत्र आइतवार जिल्ला ल्याइपुर्‍याएको हो । 

जिल्लाका लागि ५ लाख ५० हजार थान मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ र प्रदेश (१) र (२) को मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र तनहुँ क्षेत्र नम्बर २ र प्रदेश (१) र (२) को मतपत्र निर्वाचन अधिकृतको कार्यालय दुलेगौडामा सुरक्षित रूपमा राखिएको छ । 

‘नेपाली सेनाको सुरक्षा घेरामा आएको मतपत्र तनहुँको क्षेत्र नम्बर १ को दमौलीमा र क्षेत्र नम्बर २ को मतपत्र शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर राखिएको छ,’ उनले भने । क्षेत्र नम्बर १ को प्रतिनिधिसभा र प्रदेशसभाका लागि २ लाख ७३ हजार र २ नम्बरका लागि २ लाख ७७ हजार थान मतपत्र आइपुगेको छ । 

क्षेत्र नम्बर १ प्रतिनिधि सभाका लागि १ लाख ३६ हजार मतपत्र आएको छ । सोही प्रतिनिधि सभाको प्रदेश (१) का लागि ७४ हजार र प्रदेश (२) का लागि ६३ हजार मतपत्र आएको छ । 

क्षेत्र नम्बर २ प्रतिनिधि सभाका लागि १ लाख ३८ हजार मतपत्र आइपुगेको छ । सोही प्रतिनिधि सभाको प्रदेश (१) का लागि ७४ हजार र प्रदेश (२) का लागि ६५ हजार मतपत्र आइपुगेको छ । 

क्षेत्र नम्बर १ तर्फ १ लाख २३ हजार ४९० मतदाता छन् । तीमध्ये प्रदेश (१) तर्फ ६७ हजार १४४ र प्रदेश (२) तर्फ ५६ हजार ३४६ मतदाता छन् । 

क्षेत्र नम्बर २ अन्तर्गत १ लाख २५ हजार ५ मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार ३२ र प्रदेश २ तर्फ ५७ हजार ९७३ मतदाता छन् । 

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ५७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेशसभा (१) का लागि ११ र प्रदेशसभा (२) का लागि ७ जना प्रतिस्पर्धामा छन् । 

क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि १०, प्रदेश सभा (१) का लागि ८ र प्रदेश सभा (२) का लागि ६ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनका लागि जिल्लाका उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् ।

निर्वाचन आयोगले मतदानको १७ दिन अगाडिबाट मात्रै प्रचारप्रसार, आमसभा गर्न अनुमति दिएकाले उम्मेदवारहरू घरदैलोमा पुगेर मतदाता भेटिरहेका छन् । 

मतदाताको भेटघाटका क्रममा उम्मेदवारले आ–आफ्ना एजेण्डा मतदाता समक्ष राख्ने गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो चरणको घरदैलो सकेका छन् । उनले व्यास र भानु नगरपालिकासहित बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा मतदाता भेटघाट गरिसकेका छन् ।

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबहादुर राना भानुका विभिन्न वडामा मतदाता भेटघाट गरिरहेका छन् । राप्रपाका उम्मेदवार विनोद घर्ती, हाम्रो राष्ट्रिय पार्टीका प्रवीण पौडेल लगायत उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् ।

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका शंकर भण्डारी, एमालेका किरण गुरुङका साथै साना दलका उम्मेदवार पनि मतदाता भेटघाटमा व्यस्त छन् ।

salt training

कमेन्ट गर्नुहोस्