१५ असार २०८३, सोमबार

गुण्डुका किसानले बेचे ३ करोडको फूल र माला

कात्तिक ७, २०७९
गुण्डुका किसानले बेचे ३ करोडको फूल र माला
प्रतिकात्मक तस्वीर

फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी ३ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । 

किसानले व्यावसायिक रूपमा ५ रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रूपमा न्यूनतम ५०० देखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् ।

वडाध्यक्ष रवीन्द्र सापकोटाले तिहारअघि मात्रै ३ करोड रुपैयाँ बराबरको माला बिक्री भइसकेको जानकारी दिए ।

गत वर्ष मात्रै ३ हजार माला बिक्री गरेकी पार्वती नगरकोटीले यस वर्ष भने ५ हजार माला बिक्री गर्ने बताइन् । नगरकोटीले १ रोपनीमा फूलखेती गरिरहेकी छन् । किसानले माला प्रतिगोटा २५–३५ रुपैयाँमा बिक्री गर्छन् । 

अर्का किसान पवित्रा बस्नेतले यस वर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन् । १ रोपनी जग्गामा फूलखेती गरेकी उनी यसवर्ष करीब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा छिन् ।

गुण्डुका किसानले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको रोप्दै आएका छन् । ‘मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल साउनको पहिलो हप्ताबाट टिप्न शुरू हुन्छ,’ किसान मेनुका नगरकोटीले भनिन् ।

स्थानीय वासिन्दाले मात्रै नभई जग्गा भाडामा लिएर फूलखेती गर्नेहरू पनि थपिएपछि फूल उत्पादन बढेको छ । सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत फूलखेती गर्ने किसानलाई यस वर्ष ६० हजार फूलको बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि स्थानीय आकर्षित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्