
कोरोना महामारीका कारण विगतका दुई वर्ष व्यंग्यात्मक देउसी भैलो नल्याएको सिस्नोपानी नेपालले यसपटक कडा व्यग्यसहितको देउसी भैलो ल्याएको छ ।
विशेष गरी आसन्न चुनाव र दलहरूबीचको गठबन्धनलाई व्यंग्य गरिएको छ । यसका अलावा देशका तमाम विकृति विसंगतिमाथि व्यंग्य गरिएको छ ।
सिस्नोपानी नेपालले देउसीपछिको आशिषमा पनि व्यंग्य कसेको छ ।
हेर्नुहोस्, आशिष :
यो रुख कसको – आलेको
कार्बनडाइअक्साइड – फालेको
त्यै रुखमुनि – बसेर
आशिष दिन – थालेको
व्याख्यात्मक घोषणा – आइरहून्
दिल्ली र बेइजिङ – धाइरहून
हाम्रा सुगाले – खाइरहून्
गोपिकृष्ण – गाइरहून्
जनताभन्दा नेता – धेरै हुन्
सत्तामा सधैंँ – मेरै हुन्
स्वतन्त्र छुँदा – दलको होस्
श्री ५ को जस्तो – झल्को होस्
नेताका सन्तान – राडीमा हुन्
जनताका सन्तान -खाडीमा हुन्
देवरहरू नाचून – पाउजूले
टिकट पस्कून – भाउजूले
खुल जा सिमसिम – खुली रहोस्
बीपीको आत्मा – डुली रहोस्
डाँडाकाँडा ढाकून – टावरले
फैसला किनून् – पावरले
रामचन्द्रको झैँ – आशा होस्
वीरबलको खिचडी – खासा होस्
देउवाको जस्तो – कुण्डली होस्
ओलीको जस्तो – मण्डली होस्
प्रचण्डको जस्तो – पासा होस्
बाबुरामको जस्तो – तमासा होस्
निष्ठाको राजनीति – मार्दै जाऊन्
सन्तानमा सत्ता – सार्दै जाऊन् ।।