११ साउन २०८३, सोमबार

गठबन्धनका कारण टिकट नपाएकालाई अरु तरिकाले न्याय गर्छु– देउवा

कात्तिक ७, २०७९
गठबन्धनका कारण टिकट नपाएकालाई अरु तरिकाले न्याय गर्छु– देउवा
फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गर्नु रहर नभई देशको आवश्यकता रहेको दाबी गरेका छन् । गठबन्धनका कारण टिकट खोसिएकालाई अन्य तरिकाले न्याय गर्ने उनले बताए ।

सत्तारुढ गठबन्धनले सोमवार काठमाडौंमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै देउवाले ठूलो लडाइँ लडेर ल्याएको लोकतन्त्र बचाउनको लागि गठबन्धन अपरिहार्य रहेको जिकिर गरेका हुन् ।

‘बाबुरामजीले भनिसक्नु भयो, यो गठबन्धन आवश्यकताले बनेको हो, रहरले बनेको होइन । मलाई प्रधानमन्त्री बनाउनुभएको होइन । गठबन्धनको महत्वको विषयमा अन्य साथीहरूले भनिसक्नु भएको छ, गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ’, देउवाले भने । 

देउवाले गठबन्धन गर्दा सबै पार्टीका आकांक्षीले टिकट पाउन नसकेको भन्दै भोलिको दिनमा सबै पार्टीले न्याय गर्ने बताए । ‘यो गठबन्धनलाई टिकाउन गठबन्धनका सबैले एक भएर लागेर गठबन्धनको विजय गराउनु पर्नेछ’, उनले भने । 

संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत आउन नसक्ने भएकोले गठबन्धन अपरिहार्य रहेको उनले दाबी गरे । ‘गठबन्धनको संस्कृति शुरुवात गरेका छौँ, यसलाई अगाडि बढाएको खण्डमा कसैले पनि प्रजातन्त्रको खिलापमा जान सक्ने छैन, समावेशी सुन्दर नेपाल बन्ने छ’, देउवाले भने ।

salt training

कमेन्ट गर्नुहोस्