
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
उनले प्रेस स्वतन्त्रता नभए देशमा प्रजातन्त्रको विकास र सुदृढीकरण हुन सक्दैन भन्दै स्वतन्त्रताको पक्षमा सरकार उभिने विश्वास दिलाए ।
कार्यक्रममा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गठबन्धनका पक्षमा जनमत सिर्जना गर्न आग्रह गरे ।
कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रतिगमनकारी शक्तिले गठबन्धनका विरुद्ध गलत प्रचार गरिरहेकाप्रति सजग रहँदै सत्यतथ्य सामग्री सम्प्रेषण गर्न सञ्चारमाध्यमको ध्यान जानुपर्ने बताए ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरही , प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, अध्यक्ष शिव लम्साललगायतले संविधानको रक्षाका लागि सक्रिय रुपमा लाग्ने प्रतिबद्धता जनाए ।