०८ साउन २०८३, शुक्रबार

रुस र युक्रेनले लगाए एकअर्कामाथि ‘डर्टी बम’ प्रयोग गर्न खोजेको आरोप, कस्तो पदार्थ हो त्यो ?

कात्तिक ८, २०७९
रुस र युक्रेनले लगाए एकअर्कामाथि ‘डर्टी बम’ प्रयोग गर्न खोजेको आरोप, कस्तो पदार्थ हो त्यो ?

आतंकवादीहरूले हतियारका रूपमा उपयोग गर्छन् भनी डर्टी बमसँग संसार डराउने गरेको छ । यो बम फ्याँकेपछि वातावरणमा रेडियोधर्मी धूलो तथा धूवाँ फैलिएर त्रास, अन्योल र तनाव सिर्जना हुने भएकाले आतंकवादीहरू यो बमलाई खुबै रुचाउँछन् । 

युक्रेनले डर्टी बम विस्फोट गरी त्यसको दोष रुसमाथि लगाउन खोजेको आरोप रुस सरकार क्रेमलिनले लगाएको छ । नवौं महिनामा प्रवेश गरेको युद्धलाई थप चर्काउने उद्देश्यले युक्रेन यस्तो कुकर्ममा लाग्न खोजेको रुसको भनाइ छ । 

तर पश्चिमी मुलुकहरूले रुसको दाबी पूरै झूटो भएको बताएका छन् । 

यस युद्धमा डर्टी बम विस्फोट गरिएको घटना दर्ज भएको छैन । तर दुई दशकअघि रुसको दक्षिणी भागमा रहेको चेचेन्या प्रान्तमा यस्तो डिभाइस विस्फोट गर्न खोजिएको खबर आएको थियो । 

डर्टी बमले कसरी काम गर्छ ?

रेडियोधर्मी विस्तारक डिभाइस भनी प्राविधिक रूपमा चिनिने डर्टी बम तुलनात्मक रूपमा कच्चा र सटीकताविहीन हतियार हो । आणविक हतियार बनाउनुभन्दा यसलाई बनाउन निकै सस्तो पर्छ र यो कम खतरनाक पनि छ । 

डाइनामाइट जस्तो परम्परागत विस्फोटक पदार्थका साथै रेडियोधर्मी सामग्री डर्टी बममा उपयोग गरिएको हुन्छ । यो विस्फोट भएपछि रेडियोधर्मी सामग्री वातावरणमा फैलिन्छ । यस्तो सामग्री खतरनाक हुने भए पनि घातक नै हुन्छ भन्न सकिन्न । 

यस्तो बममा उपयोग हुने सामग्री औषधि तथा उद्योग वा अनुसन्धान केन्द्रहरूमा पाइने रेडियोधर्मी स्रोतबाट लिन सकिन्छ । 

‘डर्टी बम बनाउन एकदमै सजिलो छ,’ वाशिङटनमा रहेको गैरनाफामूलक संस्था न्युक्लियर थ्रेट इनिसिएटिभमा उपाध्यक्ष रहेका स्कट रोकर बताउँछन् । ‘यो कच्चा डिभाइस हो ।’

डर्टी बमले कस्तो क्षति गर्छ ?

डर्टी बमले गर्ने हताहतीको संख्या तथा पुर्‍याउने क्षति धेरै कुराहरूमा निर्भर रहन्छ । 

कति मात्रामा अनि कस्तो प्रकारका विस्फोटक पदार्थहरू उपयोग गरिएका छन् भन्ने कुराले विस्फोटको भव्यता निर्धारित गर्छ । 

रेडियोधर्मी सामग्रीको मात्रा र प्रकारका साथै मौसमको अवस्थाले पनि क्षतिलाई निर्धारित गर्छ । हावा चलेको छ भने निकै ठूलो क्षेत्रफल प्रदूषित हुन्छ । 

धेरैजसो डर्टी बमहरूबाट निस्कने विकिरणले मृत्यु वा कडा ज्वरो पनि ल्याउँदैन । 

थोरै विकिरण जिउमा परेछ भने खासै केही लक्षण देखिँदैन । विकिरण देखिँदैन, यसको गन्ध आउँदैन र स्वाद पनि हुँदैन । त्यसैले धेरै मानिसलाई आफू विकिरणमा परेको नै थाहा हुँदैन ।

डर्टी बम कत्तिको खतरनाक हुन्छ ?

यसको मनोवैज्ञानिक असर बढी पर्छ । त्यसैले यसलाई भीड अत्याउने हतियारका रूपमा लिइन्छ । 

डर्टी बम युद्धभूमिमा उपयोग गरिँदैन । शहरी क्षेत्रमा यसको बढी उपयोग हुने रोकर बताउँछन् । 

‘यो मनोवैज्ञानिक हतियार हो । तपाईं मान्छेलाई तर्साएर दपेट्न चाहनुहुन्छ भने यस्तो हतियार प्रयोग गर्नुहुन्छ,’ उनले बताए । 

रेडियोधर्मी धूलो र धूवाँ टाढासम्म फैलिन सक्छ । विस्फोट भएको ठाउँनजिक सास फेर्नु खतरनाक हुन सक्छ । रेडियोधर्मी बादल अलि परैसम्म फैलिन सक्ने रोकर बताउँछन् । तर रेडियोधर्मी सामग्री वातावरणमा फैलिँदा यसको घनत्व कमजोर हुन्छ र कम हानिकारक हुन्छ । 

कस्तो प्रकारको विकिरण हो, कति लामो समयसम्म कोही मानिसमा विकिरण परेको छ, विकिरण छालाबाट कि सासबाट कि मुखबाट पसेको हो भन्ने कुराले पनि यसको क्षतिलाई निर्धारित गर्छ । 

विकिरण पत्ता लगाउन विशेष सामग्री आवश्यक छ । विकिरण परेका घर, कार्यालय वा सार्वजनिक सेवाप्रदायक स्थानमा महिनौंसम्म कसैलाई जान नदिन सकिन्छ र निकै घोटीघोटी सफा गर्नुपर्ने हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्