
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी छ । यस्तोमा उम्मेदवारलाई चुनाव प्रचारका लागि भ्याइनभ्याई छ । आचारसंहिताको पालना गर्दै मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारले कसरत गर्नुपरेको छ ।
दिन रात नभनी प्रचार प्रसार अभियानलाई तीव्र बनाएका उम्मेदवारको न त सुत्ने ठेगान छ न त खाना खाने समय सन्तुलित नै छ । यस्तो अवस्थामा स्वास्थ्य बिग्रने हो कि भन्ने डर पनि कायमै छ ।
चुनावी प्रचार प्रसारका क्रममा अहोरात्र कार्यकर्ता, शुभचिन्तक र मतदातासँग घेरिएर बस्नु पर्ने हुँदा कतिपय उम्मेदवारलाई पर्याप्त विश्राम गर्न र स्वास्थ्य अनुकुल खान पाउन कठिन छ । आफ्नो क्षेत्र निरन्तर घुम्नु पर्ने हुँदा सुत्ने र खानपिनको ठेगान छैन । अव्यवस्थित भोजन र अनिँदोका कारण चुनावको मुखैमा अस्वस्थ भइने हो कि भन्ने चिन्ताले उम्मेदवारलाई सताएको छ ।
मोरङको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका सदस्य पदका लागि सत्ता घटक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अमनलाल मोदीले आपूm जनताको बीचमा नै रहने गरेको र काम गर्दै जाँदा बढीमा चार घण्टा सुत्ने गरेको बताए ।
उनले सुत्ने र खाने समयको तालिका नमिल्दा स्वास्थ्य बिग्रने र स्वास्थ्य बिग्रिए जनतालाई न्याय दिन नसक्ने भन्दै केही खानेकुरासँगै बोकेर हिँड्ने गरेको बताए । चुनाव प्रचारका दौरान चाउचाउ, चिउरा, सातु बोकेर हिँड्ने गरेको उनी बताउछन् र
मोरङको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका सदस्य पदका नेकपा (एमाले) –जनता समाजवादी पार्टी (जसपा) गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार विनोदप्रसाद ढकालले आपूm प्रायः राति ११ बजे सुतेर सखारै ५ बजे ओछ्यान छाडिसक्ने बताए ।
उनले मानिसलाई छ घण्टाको निद्रा पर्याप्त भएको र आफूले पनि सक्दो छ घण्टाको विश्राम लिने प्रयास गर्ने गरेको बताए । ढकालले कर्नफ्लेक्स, चिया, फलफूल खाएर घरबाट निस्कने गरेको बताए ।
प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ४ (ख)मा सत्ताघटक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुलीले अहिले निर्वाचनको बेला आपूmले तीन/चार घण्टामात्र सुत्न पाएको बताए ।
निद्रामा असर परे पनि भगवान्को आराधना, तप र ध्यानले शरीरको ऊर्जामा खासै प्रभाव नपरेको उनले बताए । उनले चिउरा, भुजिया र बिस्कुट बोकेर हिँड्ने गरेको बताए । अनिँदोका कारण स्वास्थ्यमा समस्या आउने चिन्ता लाग्नु स्वाभाविक भएको उम्मेदवार पराजुलीले बताए ।
प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ५ (ख)मा सत्ताघटक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अमृतकुमार अर्यालले निर्वाचन नजिकिँदै गरेको अवस्थामा मुस्किलले तीन साढे तीन घण्टा मात्र सुत्ने गरेको बताए ।
उनले चिउरा, झिझिया, चना, बिस्कुट, चिया र कहिलेकाहीँ पानीमात्र खाएर चुनाव प्रचारमा लाग्ने गरेको बताए । कार्यकर्ता र मतदाताले आफ्नो घरमा दाल भात खाइदिन आग्रह गरे पनि समय कम भएकाले साधारण खानेकुराबाट नै प्रायः काम चलाउने गरेको उनको भनाइ छ ।
प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ६ (ख)बाट नेकपा एमालेका उम्मेदवार कृष्ण बस्नेतले अहिले आफूलाई सुत्ने कुनै छुट नभएको बताए । उनी अहिले छिटोमा रातिको १ बजे सुत्ने र बिहानै ५ बजे नै उठ्ने गर्छन । बस्नेत मङ्सिर ४ गतेपछि मात्रै निद्रा पूरा गर्ने बताउछन् ।
प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ६ (ख)बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेशकुमार मास्केले मङ्सिर ४ गतेको निर्वाचनपछि चिकित्सककहाँ शरीर जाँच गराउने बताए । चुनाव प्रचारका दौरान अव्यवस्थित खाना र सुताइले रक्तचाप घटबढ भएको शंका लागेकाले स्वास्थ्यले चिन्तित बनाएको मास्केले बताए ।