रुसी सैनिकहरूले युक्रेनको दक्षिणी भागमा रहेको खर्सन शहरमा भीषण लडाइँका लागि तयारी गरिरहेको एक वरिष्ठ युक्रेनी अधिकारीले बताएका छन् ।
आफ्नो नियन्त्रणमा रहेको खर्सनलाई युक्रेनी प्रत्याक्रमणबाट प्रतिरक्षा गर्नका लागि रुसले तयारी गरेको उनको भनाइ छ ।
रुसी फौजहरूलाई उक्त क्षेत्रमा युक्रेनी सेनाले हालैका सातामा पछि धकेलेका छन् । उनीहरू नीप्रो नदीको पश्चिमी किनारमा फस्ने सम्भावना बढेको छ ।
खर्सनमा रुसले नियुक्त गरेका अधिकारीहरूले स्थानीय बासिन्दालाई नदीको पूर्वी किनारातर्फ लगेका छन् । तर रुसी फौजहरूले शहर छोड्न लागेको कुनै संकेत नपाइएको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी आरेस्टोविचले बताए ।
‘खर्सनमा सबै कुरा स्पष्ट छ,’ उनले भने, ‘रुसीहरूले सैनिक संख्या बढाइरहेका छन् र आफ्नो समूहलाई बलियो बनाइरहेका छन् ।’
‘यसको अर्थ हुन्छ– कोही पनि पछि हट्न तयार छैन । उल्टो, खर्सनका लागि भीषण लडाइँ हुनेवाला छ ।’
गत सेप्टेम्बर महिनामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खर्सन सहितका चार क्षेत्र रुसमा मिसाइएको घोषणा गरेका थिए । ती चारमध्ये खर्सन रणनीतिक रूपमा सबभन्दा महत्त्वपूर्ण क्षेत्र हो । रुसको मुख्यभूमिबाट क्राइमिया प्रायद्वीपसम्म पुग्ने एक मात्र स्थलमार्ग तथा युक्रेनलाई दुई फ्याक पार्ने विशाल नीप्रो नदीको मुख खर्सनमै छ ।