२८ जेठ २०८३, बिहीबार

देउसीभैलीको मौलिकपन जोगाउनै मुस्किल

कात्तिक ९, २०७९
देउसीभैलीको मौलिकपन जोगाउनै मुस्किल

लक्ष्मीपूजाको दिन भैली र गोवद्र्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा बिस्तारै लोप हुँदै गएको छ ।

झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आँगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि बिरलै देख्न पाइन्छ । 

शहरी क्षेत्रमा तिहार पर्व प्रारम्भ हुने बित्तिकै लक्ष्मीपूजा वा गोवद्र्धन पूजा नै नगरी देउसी खेल्न प्रारम्भ गरिन्छ । त्यो देउसीमा चलचित्र गीत, माया पिरतिका गीत, पप, र्‍याप गीत गाउने गएर देउसीभैली खेल्ने गरेको देखिन्छ ।
    
कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले आफ्नो फेसबूक पेजमा पोखरा लेकसाइडमा खेलिएको देउसीको गीत राखेका छन् । त्यो देउसी गीतमा भनिएको छ, ‘कहाँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जति माया त लालुमै किन होला कसैको लाग्दैन ।’

पोखरामा मात्र होइन । राजधानी काठमाडौं, चितवन, विराटनगर, नेपालगञ्ज, बुटवल, हेटौंडाजस्ता देशका धेरैजसो शहरी क्षेत्रमा र केही मात्रामा ग्रामीण क्षेत्रमा अहिले देउसी र भैलीमा अन्य गीतहरू गाउने चलन बढ्दै गएको छ । यस्ता कार्यले देउसीभैलीमा नेपालीपन मासिँदै जाने जोखिम देखिएको छ ।

धार्मिक तथा संस्कृतिविद् डा. गोविन्द टन्डनका अनुसार तिहार पर्वमा देउसीभैली खेल्ने मौलिकपन हराउँदै गएको छ । ‘तिहारमा बत्ती र फूलको झिलिमिलीमा जुन पवित्र उद्देश्यका साथ देउसीभैली खेलिन्थ्यो,’ उनले भने, ‘अहिले र सिमेनामा गीत गाएर नाच्ने, भोजपुरी, अन्य गीतमा नाच्ने गाउने गरेको देखिन्छ, त्यो त्यो तिहारको संस्कृति होइन ।’

तिहारको महत्त्व बुझाउनका लागि राज्यले पाठ्यपुस्तकमा विस्तृत रूपमा राख्ने, अन्य कार्यक्रम आफैंले आयोजना गरेर मौलिकपनलाई जोगाइ राख्नुपर्ने उनको भनाइ छ । 

सांस्कृतिक विचलन देखियो : डा. टन्डन
    
धार्मिक मान्यताअनुसार अहिले देउसीभैली खेल्न प्रचलनमा कमी आएको छ । ‘धार्मिक मान्यताअनुसार देउसीभैली खेल्ने मूल तत्व हराउन थाल्यो, सिनेमाको गीत गाएर, अरुअरु गीत गाएर नाच्न थाले,’ संस्कृतिविद् डा. टन्डनले थपे, ‘ऐतिहासिक र पुरानो शैलीलाई छाड्दै गएर अन्य गीतमा नाच्नु संस्कृति विचलन हो ।’

तिहार अर्थात यमपञ्चकको ५ दिन नै अत्यन्तै महत्त्वपूर्ण भए पनि राज्यले यो पर्वको महत्त्व बुझाउने गरेको नपाइएको उनको बुझाइ छ । 

तिहार सयपत्री, गोदावरी र मखमलीको पर्व मात्र होइन । फूलको व्यापार गरेर आम्दानी पनि गर्न सकिन्छ । तिहारमा जुन जुन जनावरको पूजा गरिन्छ । ती सबै मानिसको जीवनमा अत्यन्तै नजिकबाट जोडिएका छन् ।  

देउसी भैलीको ऐतिहासिक पक्ष

देउसीभैली भन्ने बित्तिकै तिहार पर्व भन्ने बुझिन्छ तर तिहार पर्व कहिले र कुन मितिबाट प्रारम्भ भयो भन्ने यकिन नभए पनि झिलिमिली पर्वका रूपमा तिहार मनाउनुका विभिन्न आधार छन् । धार्मिक ग्रन्थ रामायणमा भगवान् रामले वनबास सकेर आएपछि अयोध्यामा फर्केपछि खुशीयाली मनाउनका लागि दिपावली गरिएको भन्ने प्रसङ्ग छ । अर्को प्रसिद्ध धार्मिक प्रसङ्ग बलि राजासँग जोडिएको छ । राजा बले शक्तिशाली र धनाढ्य दानव अहंकारी राजा थिए । बलिराजाको मुख्य उद्देश्य भनेको देवीदेवतालाई आफ्नो अधिनमा कजाएर राख्ने थियो । त्यसले गर्दा देवीदेवतामा त्रास बढ्दै गयो ।

सबै देवीदेवता मिलेर १ दिन भगवान् विष्णुसँग गएर भने । त्यो सुनेपछि भगवान् विष्णु सानो भिक्षु भनेर बलि राजाको कहाँ गए ।

राजा बलिले ‘तिमी यति सानो मान्छे किन भीक्षा मागेर हिँड्छौ, मेरो आधी राज्य दिन्छु यही बस’ भने तर भिक्षुले ‘म सानो भिक्षा मागेर हिँड्ने मान्छे हुँ, मलाई यत्रो राज्य के गर्नु ? बरु मलाई ३ पाइला जमिन दिनुहोस् । त्यति भए मलाई पुग्छ’ भने । राजा बलिले हुन्छ भने । भगवान् विष्णुले आफ्नो विराट रूप धारण गरी १ पाइला टेक्दा पृथ्वी पूरै ढाकियो, अर्को पाहिला टेक्दा अन्तरिक्ष (आकाश) पूरै ढाकियो । तेस्रो पाइला टेक्ने ठाउँ भएन । भगवान् विष्णुले बलि राजालाई तेस्रो पाइला कहाँ राखु भनेर सोधे । बलिराजाले कही ठाउँ नदेखे पनि मेरो शिरमा राख्नुहोस् भनेर भने । भगवान् विष्णुले देउ शिर भने । 

एउटा पाइला शिरमा राखे । त्यही ‘देउ शिर’ भन्ने शब्दलाई पछि देउसी रे भन्न थालियो । धार्मिक तथा संस्कृतिविद् डा. टन्डनका अनुसार शुरूमा देश शिर भनिए पनि पछि यसैलाई खुशीयालीका रूपमा देउसी खेल्दै जाँदा ‘देउसी रे’ भन्न थालियो । धार्मिक तथा ऐतिहासिक रूपमा विशेष महत्त्व बोकेर मनाउन थालिएको तिहार पर्वका अवसरमा महत्त्वका साथ खेलिने देउसी भैलीलाई अहिले आधुनिकताका नाममा आफ्नो मौलिक सांस्कृतिक परम्परालाई भुल्दै गएको देखिन्छ । – कालिका खड्का/रासस

salt training

कमेन्ट गर्नुहोस्