
प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्को जगेर्ना गर्दै यसको महत्त्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताएका छन् ।
नेपाल संवत् ११४३ को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले बुधवार वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको मौलिक संवत्का रूपमा रहेको नेपाल संवत्को प्रयोगलाई आगामी दिनमा थप व्यापकता दिन आवश्यक रहेको बताए ।
प्रधानमन्त्री देउवाले समाजमा गरीबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिकस्तर वृद्धि गर्न र जनतालाई सुखी एवं स्वतन्त्र तुल्याउन शङ्खधर साख्वाःले गरेको कामबाट हामी सबैले प्रेरणा लिन सक्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘शङ्खधर साख्वाःले देखाउनुभएको सत्मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्न सके मुलुकबाट गरीबी, आर्थिक असमानता र विपन्नता चाँडै नै अन्त्य गर्न सकिने कुरामा दुईमत छैन । नेपालको सामाजिक इतिहासलाई उच्च राख्ने शङ्खधर साख्वाःजस्ता महान् व्यक्तित्वबाट हामी सबैले सिक्न जरुरी छ ।’
प्रधानमन्त्री देउवाले व्यक्तिगतभन्दा सामूहिक र दलगत हितभन्दा माथि उठेर राष्ट्रिय हितलाई आत्मसात् गरी अघि बढ्नसके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले न्हूदँको अवसरमा हरेक वर्ष काठमाडौंको वसन्तपुरमा आयोजना गरिने बृहत् सांस्कृतिक र्याली कार्यक्रमबाट राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानलाई प्रचारप्रसार हुनुका साथै नेपाल संवत्को ऐतिहासिकता, व्यवहारिकता, सांस्कृतिक महत्त्वका विविध पक्षलाई आम नागरिक समक्ष पुर्याउन गरिएका प्रयास प्रशंसनीय रहेको बताए । उनले आगामी दिनमा पनि राष्ट्रिय विभूति शङ्खधर साख्वाः र नेपाल संवत्का बारेमा थप रचनात्मक कार्य गर्दै जानुपर्नेमा जोड दिए ।
उनले विक्रम संवत् २०४६ र २०६२/६३ को जनआन्दोलनको सफलतासँगै नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरेपश्चात हालका दिनमा यसको प्रयोगले व्यापकता लिँदै गएको बताए ।