बेलायतको इतिहासमा पहिलोपटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बनेका छन् ।
ऋषि सुनकको यो उपलब्धि भारतीयका लागि गौरवको विषय हुन सक्छ, तर के यो भारतका लागि फाइदाजनक हुन्छ ? भारतलाई फाइदा पुग्ने सम्भावना कम रहेको भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ ।
आर्थिक सम्बन्धलाई अन्तर्राष्ट्रिय सम्बन्धको सबैभन्दा ठूलो परीक्षा मानिन्छ। यस हिसाबले अहिले भारतको स्थिति बेलायतभन्दा अलि राम्रो मान्न सकिन्छ । पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि २०२१ को भारत भ्रमणका क्रममा आर्थिक सम्बन्ध सुधार गर्ने अभ्यास शुरू गरेका थिए।
ब्रेक्जिटपछि बेलायतका लागि दुई देशबीचको स्वतन्त्र व्यापार सम्झौता, लगानी बढाउने जस्ता कदम बढी महत्वपूर्ण छन् । बोरिस जोनसनको मन्त्रिपरिषद्मा विदेशमन्त्री रहेकी लिज ट्रस आफैं प्रधानमन्त्री हुँदा उनको नीति पनि भारतसँगको सम्बन्धलाई मजबुत बनाउने थियो । तर बोरिस जोन्सन वा लिज ट्रसको तुलनामा, ऋषि सुनक भारतीय सरकारी नीतिको धेरै ठूलो आलोचक छन्।
अब प्रधानमन्त्री बनेपछि ऋषि सुनकले पनि भारतसँगको आर्थिक–रणनीतिक सम्बन्ध बिगार्न चाहँदैनन्, तर बेलायतमा आफ्नो लोकप्रियता बढाउन आफ्नो भनाइ र व्यवहारमा भारतप्रति कटुता देखाउन पछि नहट्ने आकलन गरिएको छ ।
यसको सबैभन्दा ठूलो संकेत ऋषि सुनकको मन्त्रिपरिषद्मा सुएला ब्रेभरम्यान गृहमन्त्रीको रूपमा फर्किनु हो।
सुएलाका बुवा गोवा मूलका र आमा तमिल मूलकी हुन्। तर उनले बेलायतमा बढ्दो आप्रवासीहरूको संख्याको विरुद्धमा आवाज उठाइरहेकी छिन्।
उनले भारतीयहरूले सबैभन्दा बढी भिसा नियम तोडेको पनि बताएकी छिन् ।