
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध आणविक हतियार चलाउने उद्देश्य रुसले नराखेको स्पष्ट पारेका छन् ।
भाल्दाइ फोरमले आयोजना गरेको एक सम्मेलनमा बिहीवार कुरा गर्दै पुटिनले पश्चिमी प्रभुत्व सुरक्षित पार्ने प्रयासस्वरूप युक्रेनमा द्वन्द्व मच्चाइएको बताए ।
भाल्दाइ फोरम अन्तर्राष्ट्रिय स्तरका परराष्ट्रनीतिविद्हरूको सम्मेलन हो ।
अमेरिका र उसका साझेदारहरूविरुद्ध विषवमनमा लामो समय खर्चिएका पुटिनले खतरनाक, रक्तरञ्जित र फोहरी प्रभुत्वको खेल खेल्दै पश्चिमले अरूमाथि आफ्नो कुरा लाद्न खोजेको आरोप लगाए ।
नियममा आधारित विश्व व्यवस्था भन्दै पश्चिमले आफ्नो प्रभुत्व अरूमाथि थोपर्न खोजेको उनको भनाइ छ ।
विश्व अब परिवर्तनको संघारमा रहेको र मानवजातिमाथि आफ्नो कुरा लाद्न पश्चिम नसक्ने हुँदै गएको पुटिनको भनाइ छ । तैपनि उसले प्रभुत्व लाद्ने कोशिश नछोडेको तर अधिकांश मुलुकले त्यसलाई सहन छोडेको उनले बताए ।
पश्चिमका नीतिहरूले थप अव्यवस्था उत्पन्न गर्ने पुटिनको भनाइ छ ।
रुस पश्चिमको शत्रु नभएको तर पश्चिमका नवउदारवादी सम्भ्रान्तहरूको हैकमलाई रुसले सधैं विरोध गर्ने पुटिनले बताए । रुसलाई उनीहरूले दबाउन खोजेको आरोप पनि पुटिनले लगाए ।