अमेरिकाबाट प्रकाशित हुने न्युजवीक पत्रिकाले बुधवार (अक्टोबर २६) मा एउटा खबर दियो : ‘रुस सीमानजिक नेटोलाई आणविक हतियार राख्न फिनल्यान्डले अनुमति दिने’ । उक्त समाचारमा फिनल्यान्डका सञ्चारमाध्यममा प्रकाशित समाचारहरूलाई उद्धृत गरिएको छ ।
फिनल्यान्डलाई नेटोको सदस्य बन्नका लागि अमेरिकी आणविक हतियार रुसी सीमा नजिक राख्न पाउने शर्त तेर्स्याइएको खबर आएको थियो । युक्रेनपछि फिनल्यान्ड सीमा नै मस्कोबाट सबभन्दा नजिक पर्ने हुनाले त्यहाँ आणविक हतियार राख्न खोजिएको हो ।
युक्रेनबाट प्रहार गरिएको आणविक क्षेप्यास्त्र पाँच मिनेटमा मस्को पुग्न सक्छ । त्यसले रुसको प्रतिकार कमान्डलाई शुरूमै बेकामे बनाइदिन्छ । फिनल्यान्डबाट क्षेप्यास्त्र मस्को पुग्ने समय चाहिँ सात मिनेट हो । त्यस्तो अवस्थामा रुसले प्रतिकारात्मक कारवाही चलाउनका लागि १२० सेकेन्ड मात्र बढी समय पाउँछ ।
नेटोमा जोडिनका लागि संसदमा पेश गरिएको विधेयकमा फिनिश सांसदहरूले मत दिन लागेका छन् । यसरी फिनल्यान्ड तेस्रो विश्वयुद्धमा रुसलाई पराजित गर्नका लागि अमेरिकाको हतियार बन्न खोजेको छ ।
फिनल्यान्डलाई द्रुत गतिमा नेटोको सदस्य बन्नका लागि यो शर्त राखिएको हुन सक्ने सम्भावनालाई विचार गर्दा नेटोले फिनल्यान्ड आफूमा जोडिएमा रुसलाई परास्त गर्न सकिने आकलन गरिरहेको हुनुपर्छ ।
न्युजवीकको रिपोर्टमा थप लेखिएको छ, ‘अमेरिकाले अहिले नै युरोपमा १०० वटा जति आणविक हतियार राखेको छ । ती हतियारहरू बेल्जियम, जर्मनी, इटली, नेदरल्यान्ड्स र टर्कीमा रहेको फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्सले जनाएको छ । नेटोका सदस्य बेलायत र फ्रान्सले आफ्नै स्वतन्त्र आणविक हतियारहरू राखेका छन् ।’
यी कुनै पनि देशको सीमा रुससँग जोडिँदैन । ती सबै रुसबाट टाढै छन् ।
सन् १९६२ को क्युबाली क्षेप्यास्त्र संकटका बेलामा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सोभियत संघलाई वाशिङटन डीसीबाट ११ सय ३१ किलोमिटर परको स्थानमा आणविक क्षेप्यास्त्र राख्न दिएका थिएनन् । त्यसरी क्षेप्यास्त्र राखिएमा अमेरिकाले तेस्रो विश्वयुद्ध शुरू गर्ने चेतावनी केनेडीले दिएका थिए । सोभियत संघले पछि क्षेप्यास्त्र हटायो ।
फिनल्यान्ड सीमा (कोट्का शहर) बाट मस्कोको दूरी ५०७ माइल छ । युक्रेनी सीमाबाट मस्को झनै नजिक पर्छ । शोस्त्काबाट मस्कोको दूरी ३१७ माइल छ भने सुमीबाट मस्को ३५३ माइल पर छ ।
त्यसैले आफूसँग सीमा जोडिएको मुलुक युक्रेन नेटोमा जोडिएमा रुसका लागि सबभन्दा ठूलो जोखिम आइलाग्छ । फिनल्यान्ड पनि दोस्रो ठूलो जोखिम हो तर रुसीहरूको नजरमा युक्रेन नै ठूलो खतरा हो ।
रुसले त्यही ३१७ माइलको दूरीलाई पर धकेल्नका लागि युक्रेनमाथि आक्रमण गरेको हो । क्षेप्यास्त्रका लागि ३१७ माइल र ५०७ माइलको दूरीमा जम्मा दुई मिनेटको अन्तर छ । आणविक क्षेप्यास्त्र उड्ने क्रममा सबभन्दा सुस्त गति हुने भनेको शुरूमा हुन्छ । एकचोटि गति समातेको क्षेप्यास्त्र त्यसपछि द्रुत ढंगले लक्ष्यमा पुग्छ ।
व्यावहारिक रूपमा हेर्दा वाशिङटनले मस्कोबाट ५०७ माइल टाढा आणविक क्षेप्यास्त्र तैनाथ गर्नु अनि युक्रेनी सीमामा त्यस्तै हतियार तैनाथ गर्नु उस्तै कुरा हो । त्यसरी युक्रेनमा हतियार राख्न खोजिएकोलाई रुसले सक्रिय रूपमा प्रतिकार गरिरहेको सबैलाई थाहा छ ।
सन् १९६२ का क्षेप्यास्त्रहरू अहिलेको भन्दा निकै सुस्त थिए । त्यसैले वाशिङटनबाट ११ सय ३१ माइल पर क्युबामा सोभियत संघले क्षेप्यास्त्र राखेकैलाई तुलना गर्ने हो भने रुसले अमेरिकी क्षेप्यास्त्रहरू मस्कोबाट कम्तीमा २ हजार माइल पर मात्र राख्न दिन सक्नुपर्छ ।
यस अर्थमा रुसका लागि वर्तमान परिस्थिति सन् १९६२ को भन्दा थप खतरनाक छ । त्यतिखेर क्युबाली क्षेप्यास्त्र संकटले अमेरिकालाई जति जोखिममा पारेको थियो, रुस त्यसभन्दा बढी जोखिमको स्थितिमा छ ।
यस विषयको मूल्यांकन गर्नका लागि विशेषज्ञता हासिल गरेका अग्रणी अमेरिकी वैज्ञानिकहरूका अनुसार, अमेरिकाको नयाँ आणविक हतियार नीतिले देहायको काम गर्न खोजेको छ : ‘आणविक हतियार भएको मुलुकले लड्नका लागि सामर्थ्य हासिल गर्न सकेको छ कि छैन भनी जाँच्ने अनि शत्रुलाई आश्चर्यमा पार्दै पहिलो आक्रमण आफैंले गरी आणविक युद्ध जित्ने ।’
न्युजवीकले बुधवार गरेको खुलासाअनुसार, अमेरिकी सरकार यही योजनामा काम गरिरहेको छ । त्यस रणनीतिलाई ‘न्युक्लियर प्राइमेसी’ भनिन्छ । सन् २००६ तिर अमेरिकाले पारस्परिक विनाशको अवस्था रोक्नका लागि आणविक हतियार उपयोग नगर्ने म्युचुअल्ली अस्योर्ड डिस्ट्रक्सन वा म्याडलाई विस्थापित गरी न्युक्लियर प्राइमेसीलाई अघि सारेको थियो ।
दोस्रो विश्वयुद्धमा फिनल्यान्ड नाजीहरूको पक्षमा उभिएको थियो । सोभियत संघमाथि आक्रमण गर्ने अपरेसन बार्बरोसामा फिनल्यान्ड जर्मनहरूसँगै सहभागी थियो । अहिले नेटोमा जोडिएमा फिनल्यान्डले त्यही कुरा रुसविरुद्ध दोहोर्याउनेछ ।
अमेरिकाका दुवै प्रमुख दल रिपब्लिकन र डेमोक्रेटिकको परराष्ट्रनीति उही नवअनुदारवादी नै हो । त्यस नीतिलाई अमेरिका र उसका साझेदारहरूका अर्बपतिले लगानी गरेका छन् । त्यो लगानी मानवताको हितका लागि नभई उनीहरूले आफ्नो विश्वव्यापी साम्राज्यलाई थप विस्तार गर्नका लागि गरेका हुन् ।
साउथफ्रन्टमा प्रकाशित एरिक जुएसको विश्लेषणलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।