२५ जेठ २०८३, सोमबार
भूराजनीति

रुसनजिक फिनल्यान्डमा आणविक हतियार राख्ने नेटोको प्रयास, अमेरिकाको खतरनाक रणनीतिक उद्देश्य

कात्तिक ११, २०७९
रुसनजिक फिनल्यान्डमा आणविक हतियार राख्ने नेटोको प्रयास, अमेरिकाको खतरनाक रणनीतिक उद्देश्य
sandboxx.us

अमेरिकाबाट प्रकाशित हुने न्युजवीक पत्रिकाले बुधवार (अक्टोबर २६) मा एउटा खबर दियो : ‘रुस सीमानजिक नेटोलाई आणविक हतियार राख्न फिनल्यान्डले अनुमति दिने’ । उक्त समाचारमा फिनल्यान्डका सञ्चारमाध्यममा प्रकाशित समाचारहरूलाई उद्धृत गरिएको छ । 

फिनल्यान्डलाई नेटोको सदस्य बन्नका लागि अमेरिकी आणविक हतियार रुसी सीमा नजिक राख्न पाउने शर्त तेर्स्याइएको खबर आएको थियो । युक्रेनपछि फिनल्यान्ड सीमा नै मस्कोबाट सबभन्दा नजिक पर्ने हुनाले त्यहाँ आणविक हतियार राख्न खोजिएको हो । 

युक्रेनबाट प्रहार गरिएको आणविक क्षेप्यास्त्र पाँच मिनेटमा मस्को पुग्न सक्छ । त्यसले रुसको प्रतिकार कमान्डलाई शुरूमै बेकामे बनाइदिन्छ । फिनल्यान्डबाट क्षेप्यास्त्र मस्को पुग्ने समय चाहिँ सात मिनेट हो । त्यस्तो अवस्थामा रुसले प्रतिकारात्मक कारवाही चलाउनका लागि १२० सेकेन्ड मात्र बढी समय पाउँछ ।

नेटोमा जोडिनका लागि संसदमा पेश गरिएको विधेयकमा फिनिश सांसदहरूले मत दिन लागेका छन् । यसरी फिनल्यान्ड तेस्रो विश्वयुद्धमा रुसलाई पराजित गर्नका लागि अमेरिकाको हतियार बन्न खोजेको छ । 

फिनल्यान्डलाई द्रुत गतिमा नेटोको सदस्य बन्नका लागि यो शर्त राखिएको हुन सक्ने सम्भावनालाई विचार गर्दा नेटोले फिनल्यान्ड आफूमा जोडिएमा रुसलाई परास्त गर्न सकिने आकलन गरिरहेको हुनुपर्छ । 

न्युजवीकको रिपोर्टमा थप लेखिएको छ, ‘अमेरिकाले अहिले नै युरोपमा १०० वटा जति आणविक हतियार राखेको छ । ती हतियारहरू बेल्जियम, जर्मनी, इटली, नेदरल्यान्ड्स र टर्कीमा रहेको फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्सले जनाएको छ । नेटोका सदस्य बेलायत र फ्रान्सले आफ्नै स्वतन्त्र आणविक हतियारहरू राखेका छन् ।’

यी कुनै पनि देशको सीमा रुससँग जोडिँदैन । ती सबै रुसबाट टाढै छन् । 

सन् १९६२ को क्युबाली क्षेप्यास्त्र संकटका बेलामा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सोभियत संघलाई वाशिङटन डीसीबाट ११ सय ३१ किलोमिटर परको स्थानमा आणविक क्षेप्यास्त्र राख्न दिएका थिएनन् । त्यसरी क्षेप्यास्त्र राखिएमा अमेरिकाले तेस्रो विश्वयुद्ध शुरू गर्ने चेतावनी केनेडीले दिएका थिए । सोभियत संघले पछि क्षेप्यास्त्र हटायो । 

फिनल्यान्ड सीमा (कोट्का शहर) बाट मस्कोको दूरी ५०७ माइल छ । युक्रेनी सीमाबाट मस्को झनै नजिक पर्छ । शोस्त्काबाट मस्कोको दूरी ३१७ माइल छ भने सुमीबाट मस्को ३५३ माइल पर छ । 

अमेरिकी सरकार यही योजनामा काम गरिरहेको छ । त्यस रणनीतिलाई ‘न्युक्लियर प्राइमेसी’ भनिन्छ । सन् २००६ तिर अमेरिकाले पारस्परिक विनाशको अवस्था रोक्नका लागि आणविक हतियार उपयोग नगर्ने म्युचुअल्ली अस्योर्ड डिस्ट्रक्सन वा म्याडलाई विस्थापित गरी न्युक्लियर प्राइमेसीलाई अघि सारेको थियो ।

त्यसैले आफूसँग सीमा जोडिएको मुलुक युक्रेन नेटोमा जोडिएमा रुसका लागि सबभन्दा ठूलो जोखिम आइलाग्छ । फिनल्यान्ड पनि दोस्रो ठूलो जोखिम हो तर रुसीहरूको नजरमा युक्रेन नै ठूलो खतरा हो । 

रुसले त्यही ३१७ माइलको दूरीलाई पर धकेल्नका लागि युक्रेनमाथि आक्रमण गरेको हो । क्षेप्यास्त्रका लागि ३१७ माइल र ५०७ माइलको दूरीमा जम्मा दुई मिनेटको अन्तर छ । आणविक क्षेप्यास्त्र उड्ने क्रममा सबभन्दा सुस्त गति हुने भनेको शुरूमा हुन्छ । एकचोटि गति समातेको क्षेप्यास्त्र त्यसपछि द्रुत ढंगले लक्ष्यमा पुग्छ । 

व्यावहारिक रूपमा हेर्दा वाशिङटनले मस्कोबाट ५०७ माइल टाढा आणविक क्षेप्यास्त्र तैनाथ गर्नु अनि युक्रेनी सीमामा त्यस्तै हतियार तैनाथ गर्नु उस्तै कुरा हो । त्यसरी युक्रेनमा हतियार राख्न खोजिएकोलाई रुसले सक्रिय रूपमा प्रतिकार गरिरहेको सबैलाई थाहा छ । 

सन् १९६२ का क्षेप्यास्त्रहरू अहिलेको भन्दा निकै सुस्त थिए । त्यसैले वाशिङटनबाट ११ सय ३१ माइल पर क्युबामा सोभियत संघले क्षेप्यास्त्र राखेकैलाई तुलना गर्ने हो भने रुसले अमेरिकी क्षेप्यास्त्रहरू मस्कोबाट कम्तीमा २ हजार माइल पर मात्र राख्न दिन सक्नुपर्छ । 

यस अर्थमा रुसका लागि वर्तमान परिस्थिति सन् १९६२ को भन्दा थप खतरनाक छ । त्यतिखेर क्युबाली क्षेप्यास्त्र संकटले अमेरिकालाई जति जोखिममा पारेको थियो, रुस त्यसभन्दा बढी जोखिमको स्थितिमा छ । 

यस विषयको मूल्यांकन गर्नका लागि विशेषज्ञता हासिल गरेका अग्रणी अमेरिकी वैज्ञानिकहरूका अनुसार, अमेरिकाको नयाँ आणविक हतियार नीतिले देहायको काम गर्न खोजेको छ : ‘आणविक हतियार भएको मुलुकले लड्नका लागि सामर्थ्य हासिल गर्न सकेको छ कि छैन भनी जाँच्ने अनि शत्रुलाई आश्चर्यमा पार्दै पहिलो आक्रमण आफैंले गरी आणविक युद्ध जित्ने ।’

न्युजवीकले बुधवार गरेको खुलासाअनुसार, अमेरिकी सरकार यही योजनामा काम गरिरहेको छ । त्यस रणनीतिलाई ‘न्युक्लियर प्राइमेसी’ भनिन्छ । सन् २००६ तिर अमेरिकाले पारस्परिक विनाशको अवस्था रोक्नका लागि आणविक हतियार उपयोग नगर्ने म्युचुअल्ली अस्योर्ड डिस्ट्रक्सन वा म्याडलाई विस्थापित गरी न्युक्लियर प्राइमेसीलाई अघि सारेको थियो ।

दोस्रो विश्वयुद्धमा फिनल्यान्ड नाजीहरूको पक्षमा उभिएको थियो । सोभियत संघमाथि आक्रमण गर्ने अपरेसन बार्बरोसामा फिनल्यान्ड जर्मनहरूसँगै सहभागी थियो । अहिले नेटोमा जोडिएमा फिनल्यान्डले त्यही कुरा रुसविरुद्ध दोहोर्‍याउनेछ । 

अमेरिकाका दुवै प्रमुख दल रिपब्लिकन र डेमोक्रेटिकको परराष्ट्रनीति उही नवअनुदारवादी नै हो । त्यस नीतिलाई अमेरिका र उसका साझेदारहरूका अर्बपतिले लगानी गरेका छन् । त्यो लगानी मानवताको हितका लागि नभई उनीहरूले आफ्नो विश्वव्यापी साम्राज्यलाई थप विस्तार गर्नका लागि गरेका हुन् ।

साउथफ्रन्टमा प्रकाशित एरिक जुएसको विश्लेषणलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्