
संयुक्त राज्य अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन् ।
अस्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट सो तथ्य पाइएको हो ।
अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षको तुलनामा यस वर्ष २ महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो ।
सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घटना भएको वर्ष भनिएकोमा सन् २०२२ का २ महिना बाँकी छँदै अहिले नै २५७ वटा घटना यस वर्ष मात्र भएको पाइएको समाचारमा जनाइएको छ ।
सन् २०२१ मा विद्यालय तथा विश्वविद्यालयमा यस्ता घटना २५० वटा भएका थिए । ती घटनाका तुलनामा अहिले बढेको अस्ट्रेलियाली मिडिया नेटवर्क संस्था द कन्भरसेसन्सले जानकारी दिएको हो ।
सो संस्थाले ३ जना अमेरिकी अपराध न्यायसम्बन्धी विज्ञसँग पनि अमेरिकामा विद्यालय, विश्वविद्यालयमा यहाँका किशोरकिशोरीहरूले गर्ने गरेका बन्दुक हमलाका विषयमा कुराकानी गरेर एक विश्लेषण पनि अनुसन्धानका क्रममा तयार पारेको जनाएको छ ।
अमेरिकी किशोरकिशोरीले विद्यालयमा हुने गरेका सानातिना विवादहरूमा पनि बन्दुक हमला गरेर आफ्ना साथीहरूको हत्या गर्ने गरेका छन् । अमेरिकामा सन् २०१८ देखि २०२२ सम्ममा भएका यस्ता हिंसाका घटनाबाट कम्तीमा पनि ५२ जनाको ज्यान गएको छ ।