०७ असार २०८३, आइतबार

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

कात्तिक १२, २०७९
नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । 

असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरन्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ । 

यसवर्ष ढिला शुरु भएको र मनसुनका कारण नदीमा दशैंसम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको नारायणी मोटरबोट व्यवसायी संघका अध्यक्ष अशेष मल्लले बताए । उनले अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने र बिदाको दिन मोटरबोट चढ्न आउनेको सख्या उल्लेख्य हुने गरेको जानकारी दिए । 

२०७६ सालमा एउटाबाट शुरु भएको मोटरबोट अहिले साना ठूला गरी २० वटा सञ्चालनमा रहेका छन् । मोटरबोट कम्पनीले अहिले दुई ठाउँबाट सेवा दिइरहेका छन् । नारायणीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्म छोटो दूरी  र मजुवा टापु पोखरा बसपार्कदेखि गैडाकोटको राधाकृष्ण मन्दिरसम्म लामो दूरी तोकिएको छ । 

एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति रु २५० र लामो दूरीमा प्रतिव्यक्ति रु ५०० भाडा तोकिएको छ । त्यहाँबाट उठेको रकमको २० प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ ।

नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए । उनले दैनिक चारसयदेखि पाँचसय जनाले नारायणीमा मोटरबोट चढ्ने गरेको बताए । बिदाको दिनमा भने एक हजार जनासम्मले मोटरबोट चढ्ने गरेको पाइन्छ ।

नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटकहरू यहाँ जलबिहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नगरवन, गैंडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृंखला लगायतको दृश्यावलोकन गर्न पाउँछन् । रासस
 

कमेन्ट गर्नुहोस्