
नेपाली कांग्रेसले आगामी ५ वर्ष भित्रमा साढे १२ लाख जनालाई रोजगारी दिने चुनावी प्रतिबद्धता व्यक्त गरेको छ ।
कांग्रेसले शनिवार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा आगामी वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प उल्लेख गरेको छ ।
‘व्यापक रोजगारीको सम्भावना बनेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायत अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गर्दछ,’ कांग्रेसले चुनावी प्रतिबद्धता व्यक्त गरेको छ ।
यससँगै कांग्रेसले न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि गराउने र त्यसका लागि ‘ओम्निबस’ आर्थिक सुधारको नयाँ चरण शुरू गर्ने कांग्रेसको प्रतिबद्धता छ ।
आर्थिक क्षेत्रका विद्यमान नीतिगत, कानूनी र प्रक्रियागत अड्चनलाई व्यापक नयाँ चरणको ‘ओम्निबस’ सुधार गर्दै न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ,’ कांग्रेसको घोषणा पत्रमा भनिएको छ ।
‘नेपाल श्रमशक्ति सर्वेक्षणले परिभाषित गरेको पछिल्लो आँकडाअनुसार नेपालमा करीब ७० लाखभन्दा बढी जनसंख्या विभिन्न प्रकारका रोजगारी र स्वरोजगारमा आवद्ध छ,’ कांग्रेसको घोषणा पत्रमा भनिएको छ, ‘सबैभन्दा बढी व्यक्ति संलग्न भएको ५ क्षेत्रमा पहिलो कृषि (१५ लाख), दोस्रो थोक तथा खुद्रा बिक्री (१२ लाख), तेस्रो उत्पादनमूलक उद्योग (११ लाख), चौथो निर्माणमा (१० लाख) र पाँचौ शिक्षा क्षेत्रमा (५ लाख) रोजगारी भएको देखिन्छ ।’