
नेपाली कांग्रेसले आगामी ५ वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पुर्याउने महत्त्वाकांक्षी लक्ष्यसहित पार्टीको चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ ।
दीगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित कांग्रेसले ५ वर्षमा वार्षिक विदेशी पर्यटक आगमन संख्या १२ लाखबाट २० लाख पुर्याउने लक्ष्य लिएको हो ।
नेपालमा सन् २०१८ र २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएको सरकारी तथ्यांक छ । कोभिड–१९ महामारीका कारण विदेशी पर्यटक आगमनदर खुम्चियो । महामारीले सबैभन्दा बढी प्रभावित बनाएको यस क्षेत्रलाई पुरानै लयमा फर्काउने लक्ष्यसहित कांग्रेसले संकल्पपत्र ल्याएको छ ।
नेपाल पर्यटन बोर्डको पछिल्लो विवरणमा ८ महिनामा हवाई मार्ग भएर कूल ३ लाख २६ हजार ६७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
कांग्रेसले महामारीका कारण मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोबल उकास्न ५ वर्षे रणनीति बनाइने रणनीति अघि सारेको छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ५ प्रतिशत पुर्याउने भनिएको छ । मुलुकको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सरकारले सन् २०२३ देखि २०३२ सम्मको अवधिलाई नेपाल भ्रमण दशकको रूपमा मनाउने घोषणा गरिसकेको छ ।
नेपालमा हाल पर्यटकको औसत बसाई १३ दिन छ । पर्यटकको बसाई लम्ब्याएर खर्च बढाउने कांग्रेसले नीति लिएको छ । पर्यटकको बसाई अवधि १५ दिन पुर्याउने र प्रतिपर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्याउने लक्ष्य लिइएको छ ।
कांग्रेसले प्राकृतिक विशिष्टता, सांस्कृतिक वैभवता, रुपान्तरणयोग्य आध्यात्मिकता, भू–बनोटीय सुन्दरता र रणनीतिक भौगोलिक अवस्थितिले गर्दा पर्यटनमा प्रचुर सम्भावना रहेकाले यसलाई दीगो आर्थिक विकासको एउटा आधार हो भनेको छ । नेपाललाई प्रकृतिमा आधारित पर्यटन र साहसिक पर्यटनको लागि अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आवश्यक कार्य गरिनुका साथै निजी क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवं गन्तव्यको प्रवद्र्धन गरिने संकल्प पत्रमा भनिएको छ ।
पश्चिमी राष्ट्रहरू र मध्यम वर्गीय जनघनत्व भएका उदीयमान एसियाली राष्ट्रबाट पर्यटक भित्र्याउन व्यापक बजारीकरण गरिने छ भने हवाई यातायातको एकाधिकारलाई कम गर्दै प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने नीति कांग्रेसले संकल्प पत्रमा उल्लेख गरेको छ ।
स्थापित तथा उदीयमान गन्तव्यसम्मको सहज र सुलभ पहुँचका लागि पूर्वाधार विस्तार र स्तरोन्नति गरिने छ भने पर्यटकको धेरै चहलपहल हुने स्थान सुरक्षित र डिजिटल नक्सामा देखिने बनाइने छ ।