
रूपन्देहीको ४ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रमोद यादवका छोरा निखिलले चलाएको गाडीको ठक्करबाट बुटवलमा शनिवार ६ जना घाइते भएका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका यादवका छोरा निखिलले विद्युतीय बा ०१–०२ ६६२९० नम्बरको कार ‘ब्याक’ गर्दा बुटवलमा ६ जना घाइते भएका छन् ।
कारको ठक्करबाट तानसेन नगरपालिका–४ का कुदल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले निखिलसँगै गाडीमा रहेका रोहित ज्यारचनलाई पनि नियन्त्रणमा लिइएको बताए । ‘इलेक्टिक भेइकलले ठक्कर दिँदा ६ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ । घटनाको अनुसन्धानका लागि उनीहरूलाई नियन्तणमा लिइएको छ,’ डीएसपी अर्यालले लोकान्तरसँग भने ।