०५ साउन २०८३, मंगलबार

भक्तपुरलाई अब ‘महानगरपालिका’ बनाउँछौं : महेश बस्नेत

कात्तिक १२, २०७९
भक्तपुरलाई अब ‘महानगरपालिका’ बनाउँछौं : महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्व मन्त्री तथा एमाले भक्तपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतले अब भक्तपुरलाई महानगरपालिका बनाउने गरी अगाडि बढेको बताएका छन् ।

शनिवार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका–१ सिरुटारमा आयोजना गरेको युवा भेला तथा उम्मेदवार परिचय कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरलाई महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक तथा अन्य संरचनाहरूको निर्माण प्रक्रिया अगाडि बढिरहेको जानकारी गराए ।

‘महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरू एकपछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन् । अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो । जनताको जीवनस्तर उच्च बनाउने हो,’ उनले भने ।

महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक संरचनाहरू सडक, शिक्षा, स्वास्थ्य, शिक्षा, खेलमैदान, खुल्ला स्थल, होटल तथा पर्यटकीय स्थलको जिल्लामा व्यापक मात्रामा विकास र विस्तार भइरहेको सविस्तार उल्लेख गर्दै उनले भक्तपुरको जनताको र समयको माग अनुसार महानगरपालिका बनाउने दृढ संकल्पका साथ एमाले र एमालेका उम्मेदवारहरू अगाडि बढिसकेको दाबी गरे । 

जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने अभियान चलाइरहेको उल्लेख गर्दै उनले अबका दिनमा जिल्लामा नै रोजगारीको सिर्जना गर्न व्यापक मात्रामा औद्योगिकीकरणको योजना अगाडि बढाइएको जानकारी दिए । भक्तपुरलाई महानगरपालिका बनाउने लक्ष्यका साथ स्मार्ट सिटी, आधुनिक सभागृह, आधुनिक वीर अस्पताल, कभर्ड हल, रंगशाला लगायतका योजनाहरू अगाडि बढिसकेको उनले बताए ।

पर्यटकीय, धार्मिक, सांस्कृतिक, कला लगायतका क्षेत्रलाई उद्योगसँग जोड्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले अब जिल्लाका प्रत्येक घरबाट कम्तीमा १ जना मास्टर्स डिग्री पास गरेका मानिसको बौद्धिक समुदायको जिल्लाको रूपमा विकास गराउने आफ्नो योजना रहेको सुनाए । जिल्लामा रहेका बौद्धिक वर्गको आवाजलाई संघ तथा प्रदेशको नीति निर्माणमा प्रयोग गर्नुपर्ने अबको आवश्यकता रहेको औंल्याउँदै उनले नेपालका विभिन्न जिल्लाको नागरिकको खोजीको रूपमा मात्र नभई विश्वभरका नागरिकको अध्ययन क्षेत्रको रूपमा भक्तपुरको विकास गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष वचन देउजा, एमाले बागमती प्रदेशका सदस्य शशीजंग थापा, एमालेका उम्मेदवार किरण थापा लगायतले आ–आफ्नो धारणा राखे । कार्यक्रममा स्थानीय युवाहरू विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्