रुसले युक्रेनी बन्दरगाहहरूबाट कृषिजन्य उत्पादनको निर्यातका विषयमा पहिले गरेको सम्झौतालाई आइतवार रद्द गरेको छ ।
संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको उक्त सम्झौताले कृष्ण सागरको बन्दरगाहबाट युक्रेनी अन्नबाली तेस्रो मुलुकमा पठाउने अनुमति दिएको थियो ।
क्राइमियामा युक्रेनी सेनाले भयंकर ड्रोन आक्रमण गरेकाले उक्त निर्णय लिइएको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।
‘शनिवार युक्रेन सरकारले बेलायती सल्लाहकारहरूको सहभागितामा रुसको कृष्ण सागर बेडा तथा नागरिक जहाजहरूमा आतंकवादी आक्रमण गरेको छ । अन्नबालीलाई सुरक्षित रूपमा तेस्रो मुलुक पुर्याउने सुनिश्चिततालाई यस आक्रमणले भत्काइदिएको छ,’ रक्षा मन्त्रालयले बयान जारी गरेर बतायो ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई रुस सरकारले अन्नबाली निर्यात सम्झौतालाई निलम्बन गरेको आधिकारिक पत्र समेत पठाइसकेको छ ।
युक्रेनी ड्रोन आक्रमणले रुसी जहाजलाई मात्र नभई सेभास्तोपोलमा रहेका संरचनालाई समेत क्षति पुर्याएको छ ।
युक्रेनी आक्रमणका कारण रुसका केही जहाजहरूमा क्षति पुगेकाले विश्वमा पुनः खाद्यपदार्थ तथा मलको समस्या चर्किने भएको छ ।
युक्रेनी सेनाको यस आक्रमणलाई त्यहाँको सञ्चारमाध्यमले प्रशंसा गर्दै भिडियोहालेको छ । भिडियोमा बेलायती ड्रोनहरूले विभिन्न रुसी तारोमा आक्रमण गरेको देखिन्छ ।