
नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्राडा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन् । हालैमात्र डा. कैनीका ‘अदृश्य मनका सादृश्यहरू’ (निबन्धसंग्रह), 'सीमाहीन सीमा’, ‘रंगको पहिचान’ (कवितासंग्रह), ‘भिसागर्ल’ (कथासंग्रह) र ‘प्रतिबिम्ब’ (गजलसंग्रह) गरी एकै पटक ५ कृति सार्वजनिक भएको थियो । वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीलगायतका विशिष्ट व्यक्तिहरूले पाँच वटा पुस्तकको एकसाथ विमोचन गरेका थिए ।
ती कृतिबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धारका साथै खाना, नाना र छानाको प्रबन्ध गरी परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमलाई दिने डा. कैनीले घोषणा गरेका हुन् । उनले पहिलो चरणको सहयोगअन्तर्गत पुस्तक विमोचनका अवसरमा उठेको रु २१ हजार ८६० आश्रमका केन्द्रीय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरेका थिए ।
केन्द्रीय सदस्य लामाले यस्तै परोपकारी व्यक्तिहरुको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी (सडकआश्रित) मानवहरुहरूको पालनपोषण भइरहेको जानकारी गराउँदै डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताइन् ।
मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरूमा घरपरिवार र आफन्तविहीन भई कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडकआश्रित मानवहरूको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ ।
आश्रमले परामर्शका क्रममा परिवार भेटिएकाहरूको पारिवारिक पुनःमिलन र परिवार नभेटिएकाहरूको संरक्षण गर्दै आएको छ ।