०८ असार २०८३, सोमबार

भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा बालकको मृत्यु, एक घाइते

कात्तिक १३, २०७९
भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा बालकको मृत्यु, एक घाइते
सांकेतिक तस्वीर

जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५  श्रृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । 

एकतर्फी रुपमा जगातीबाट काठमाडौँ जाँदै गरेको बा६च ८८५८ नंको कार, बा५५प९९२२ नंको मोटरसाइकल र बा ४ ख ५७९६ नंको बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दोलखा विगु गाउँपालिका–६ खोपाचागु घर भई हाल काठमाडौं बौद्ध बस्ने ६ वर्षीय आर्जन शेर्पाको आज नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतक बालकका पिता ४९ वर्षीय ढावा शेर्पाको भने भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले दुर्घटना भएका तीन वटै सवारीसाधन र बस चालक दोलखा भिमेश्वर नगरपालिका–४ जिलु बस्ने २६ वर्षीय भरत चौलागाईं र कार चालक भक्तपुर नगरपालिका–२ इताछे बस्ने २६ वर्षीया रिया कायस्थलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । 

प्रहरीका अनुसार एक पैदल यात्रुले अचानक बाटो काटेपछि अगाडि रहेको कारले ब्रेक लगाउँदा पछाडि रहेको मोटरसाइकल कारमा ठोक्किएर लडेको र पछाडि आइरहेको बसले मोटरसाइकलमा सवार यात्रुलाई ठक्कर दिएको थियो । मोटर साइकलमा सवार महिलालाई भने केही नभएको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्