०४ असार २०८३, बिहीबार

नेपाली सिनेमामा नयाँ स्वाद : यी सात कारणले चल्यो 'महापुरुष'

कात्तिक १४, २०७९
नेपाली सिनेमामा नयाँ स्वाद : यी सात कारणले चल्यो 'महापुरुष'

गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘महापुरुष’ले हलमा यतिबेला बम्पर ब्यापार गरिरहेको छ । फिल्म हेर्न हलमा दर्शकको उत्साहजनक उपस्थिति छ । प्रदर्शनको पहिलो, दोस्रो र तेस्रो दिन आइतवारसम्म धेरै हलहरू हाउसफूल रहेका थिए । आज (सोमवार)पनि  हलमा दर्शकको उपस्थिति बाक्लो देखिएको छ । फिल्मले प्रदर्शनको तीन दिनमा ३ करोड रुपैयाँ बढी ग्रस कलेक्सन गरिसकेको छ । फिल्म यसरी हिट हुनुमा केही कारणहरू यी हुनसक्छन् । 

निर्देशकप्रतिको विश्वास

‘महापुरुष’ फिल्म हिट हुनुमा लेखक एवं निर्देशक प्रदीप भट्टराईप्रतिको विश्वासलाई एउटा कारण मान्न सकिन्छ । उनले यसअघि ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ जस्ता हिट फिल्म दिएर दर्शकको मन जितिसकेका थिए । सोहीकारण उनीप्रति दर्शकमा एक किसिमको विश्वास थियो । 

निर्देशक भट्टराईले पनि अघिल्लो फिल्ममार्फत जितेको विश्वासलाई गुम्न नदिने गरी मेहनत गरेका थिए । 

महजोडी

फिल्म रुचाइनु पछाडिको अर्को कारण महजोडी अर्थात वरिष्ठ अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिन सकिन्छ । महजोडीको अभिनय रहेका कारण पनि फिल्म दर्शकमाझ प्रतिक्षित थियो । 

प्रिमियरमा पाएको प्रतिक्रिया

प्रदर्शनको ५ दिनअघि नै फिल्मको प्रिमियर शो राखिएको थियो । यसअघि प्रिमियर राख्ने आट सायदै निर्माता एवं निर्देशकले गर्ने गर्छन् । प्रिमियरमा यो फिल्मले उपस्थित अतिथि सेलिब्रेटीहरूबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो । प्रिमियर प्रतिक्रिया सुनेपछि पनि धेरै दर्शकहरू फिल्म हेर्न आतुर रहे । 

मोफसल टुर

फिल्म प्रदर्शनको दुई साताअघि फिल्मले देशका प्रमुख शहरहरूमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो । विभिन्न प्रस्तुतिसहित दर्शकहरूको ठूलो मासमा पुगेर फिल्मको प्रचारप्रसार गरिएको थियो । यस्तो ‘प्रमोशन’ले धेरै दर्शकसम्म फिल्मको प्रचारप्रसार हुने गर्छ । यसकारण मोफसल टुरले पनि फिल्मको व्यापारमा भूमिका खेलेको अनुमान गर्न सकिन्छ । 

टिमप्रतिको विश्वास

यसअघि ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सको ब्यानरमा ‘महापुरुष’ निर्माण भएको हो । यीनै फिल्मको निर्माता रहेका म्याक्स दिपेश खत्री, ‘जात्रा’का कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईको सहकार्यप्रति नै दर्शकमा विश्वास रहेको पाइन्छ । त्यसमाथि महजोडीको अभिनय रहेको फिल्म । फिल्म चल्नुमा निर्माण टिम र कलाकारहरूको टिमलाई पनि लिन सकिन्छ ।

शत प्रतिशत सकारात्मक प्रतिक्रिया

फिल्मको सबैभन्दा बलियो पक्ष मानियो, शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ । 

जब, फिल्म प्रदर्शनमा आयो र दर्शकहरू हलसम्म पुगेर फिल्म हेरे, अधिकांशले राम्रो प्रतिक्रिया दिए । फिल्म राम्रो रहेको भन्दै अरुलाई हेर्न समेत आग्रह गर्दै धेरैले फेसबुकमार्फत शुभकामना दिए, दिइरहेका छन् । दर्शकबाट पाएको शतप्रतिशत सकारात्मक प्रतिक्रिया फिल्म चल्नुको बलियो कारण बन्यो । सबैबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेका कारण पनि फिल्म धेरै दिनसम्म चल्ने देखिन्छ । 

टीमको मेहनत

फिल्म चल्नुको मुख्य कारण भने टीमको मेहनत नै हो । निर्माण टिमका अनुसार ३ वर्षदेखि फिल्मका लागि मेहनत गरिएको थियो । अभिनेता हरिवंश आचार्यले पहिलोपटक यसै फिल्ममा वर्कशप गरेका थिए । अधिकांश कलाकारहरू पात्रमा डुब्न मेहनत गरेको बताएका थिए । 

कथा, पटकथा, संवाद, कलाकारहरूको अभिनयलगायत समग्र टिमका कारण नै फिल्मलाई दर्शकले रुचाएका हुन् भन्दा अत्युक्ति नहोला । एकल बुबाको कथामा बनेको फिल्ममा मदनकृष्ण, हरिवंशका साथमा गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराईली, राजाराम पौडेललगायतको अभिनय छ । 

सन्तानको खुशीका लागि समर्पित बुबा अनि सन्तानले बुबाप्रति निभाउनुपर्ने कर्तव्यलाई फिल्ममा पेश गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्