१५ असार २०८३, सोमबार

विपद्‌मैत्री विकास : खोकना र बुङमतीमा विशेषज्ञहरूद्वारा अध्ययन

कात्तिक १५, २०७९
विपद्‌मैत्री विकास : खोकना र बुङमतीमा विशेषज्ञहरूद्वारा अध्ययन

विकासका नाममा अव्यवस्थित शहरीकरण बढिरहेका बेला नेपालमा ‘भोलिको शहर’लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ मुलुकका विषयविज्ञहरूको सम्मेलन शुरू भएको छ । ललितपुरमा जारी ‘टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन’ नाम दिइएको सम्मेलनमा नेपाललगायत टर्की, केन्या, इक्वेडर र बेलायतका वैज्ञानिकहरू सहभागी छन् । 

जलवायुजन्य असरका कारण निम्तिनसक्ने विभिन्न किसिमका विपद्का घटनाबाट पुग्नसक्ने क्षतिको पूर्वानुमान गरी त्यही अनुसारको व्यवस्थापनका लागि सुझाव दिने उद्देश्यका साथ वैज्ञानिकहरू नेपाल, टर्की, केन्या र इक्वेडरका केही शहरको अध्ययन-अनुसन्धानमा जुटेका हुन् । ५ दिनसम्म चल्ने सम्मेलनमा विषय विज्ञहरूले आ–आफ्नो देशमा भोलिको शहर परियोजनाअन्तर्गत अध्ययनका क्रममा प्राप्त भएका उपलब्धि र चुनौतिबारे स्पष्ट पार्नेछन् । 

युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय, प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेटलगायत विभिन्न संस्थाहरूको संयुक्त पहलमा शुरू भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आकलन गर्नेछ । 

सम्मेलनमा सहभागी बेलायतस्थित इडिबर्ग विश्वविद्यालयका प्रोफसर जोन म्याक्लोस्कीले नेपाल जलवायु परिवर्तनको मूख्य जोखिममा रहेको मुलुकमा पर्ने भएकाले नेपालको नेतृत्वले आगामी दिनमा कसरी सुरक्षित हुने भन्नेबारेमा आजै कुरा उठाउन जरुरी रहेको बताए । नेपालमा जलवायु परिवर्तनका कारण भूक्षय, हिमपात, बाढी, पहिरोलगायतका धेरै विपद्हरू बर्सेनि बढिरहेकाले नेपालले प्राकृतिक विपद्मैत्री विकास गर्न आवश्यक रहेको बताए । 

त्यसैगरी युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर कार्मिन गलासोले विकासको मोडललाई विपद्जन्य जोखिमबाट मुक्त गर्ने बारेमा नै अध्ययन अनुसन्धान केन्द्रित भएको र विभिन्न सामाजिक सञ्जालका माध्यमबाट त्यस सम्बन्धमा जनचेतना फैलाउने काम पनि गरिरहेको बताए । 

‘बढ्दो शहरीकरण र विपद्जन्य घटनाको समाधानका लागि नीति निर्माण कस्तो गर्ने ? भोलिको शहर कस्तो हुनुपर्छ र कस्तो हुनेछ भन्ने बारेमा अध्ययन गरिरहेका छौँ । अहिले हामीले बौद्धिक क्षमता विस्तार गर्ने र विकासको मोडललाई कसरी लैजाने भन्नेबारेमा अध्ययन अनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘स्थानीय सरकारहरू र नीति निर्माणकर्ताहरूले धेरैभन्दा धेरै नीति निर्माण गरेर बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण भइरहेको असरलाई रोक्ने भन्ने बारेमा सोच्नुपर्छ । यसलाई विज्ञहरूले बनाएको अध्ययन अनुसन्धानको आधारमा नै आगामी नीति निर्माण गर्नुपर्छ । अहिले विश्वमा नै भिडियो हेर्नेहरूको संख्या धेरै छ, अनलाइन प्लेटफर्ममा हामीले भिडियोमार्फत विपद्जन्य घटनाको सूचना र सम्प्रेषण गर्ने हो भन यसले पनि धेरै फाइदा पुग्नेछ ।’

एनसेटका उप-कार्यकारी निर्देशक डा. रमेश गुरागाईंले नयाँ पूर्वाधार र बस्तीहरूलाई जोखिममुक्त बनाउने अभियानका साथ भोलिको शहर (टुमरो सिटी) परियोजनाले नेपाललगायत विभिन्न ४ वटा मुलुकका केही शहरमा अध्ययन गरिरहेको स्पष्ट पारे । ‘यसको मुख्य उद्देश्य विपद् व्यवस्थापनमा पहिलेबाट काम गरिरहेका थियौँ । यसमा नयाँ पूर्वाधार, बस्तीहरू जुन हामीले बनाउँछौँ, त्यो बनाउँदा भोलि के होला ? भन्ने कुरालाई अहिले नै गर्ने हाम्रो निर्णय सही हुन्छ । यो परियोजनाले भोलि बन्ने पूर्वाधारले २० वर्षपछि के होला भन्नेकुरा थाहा हुन्छ । यो वास्तवमा अहिले गरेको निर्णयले भविष्यमा कस्तो खालको असर पर्छ भन्नेकुरा पहिल्यै हेर्ने हो’, उनले भने । 

नयाँ बस्ती वा पूर्वाधार बनाउने क्रममा भोलिको अवस्थाको पूर्व आकलन गर्नसक्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यका साथ नेपालमा शुरू भएको भोलिको शहर ‘टुमरो सिटी’ परियोजनाले हाल ललितपुर महानगरपालिकाको खोकना र बुङमतिमा अध्ययन अनुसन्धान गरिरहेको छ । सम्मेलन शुक्रवारसम्म चल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्