१३ असार २०८३, शनिबार

भक्तपुर-नगरकोट मुख्य सडक बन्द हुँदा सर्वसाधारण र पर्यटकलाई सास्ती

कात्तिक १५, २०७९
भक्तपुर-नगरकोट मुख्य सडक बन्द हुँदा सर्वसाधारण र पर्यटकलाई सास्ती
फाइल फोटो

निर्माण शुरू भएको ८ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका वासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले २ दिनदेखि सडक बन्द गराएका छन् ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको पर्यटकीयस्थल नगरकोट जाने मुख्य सडक निर्माण अलपत्र पारेर निर्माण कम्पनीले स्थानीय वासिन्दा र व्यवसायीलाई निकै सास्ती दिएको भन्दै छिटो सम्पन्न गर्न आन्दोलनस्वरूप सडक बन्द गराएका हुन् ।

सडक बन्द हुँदा यात्रुले सास्ती भोग्दै वैकल्पिक बाटोे प्रयोग गर्नुपरेको छ ।

उनीहरूले सडकको बीचमा १५ ट्रक माटो थुपारेर सोमवारदेखि कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्ने गरी अवरोध गर्दै सडक निर्माण सम्पन्न गर्न वा ठेक्का रद्द गर्न माग गर्दै सडकमै नाराबाजी समेत गरेका थिए । 

‘सडकमा १५ ट्रक माटो थुपारेर यातायातका साधन बन्द गराइएको छ,’ नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले भने, ‘सडक निर्माण शुरू भएको ८ वर्ष भयो, अझै निर्माण सम्पन्न गरिएकोे छैन, ७ पटक ठेक्का सम्झौतामा म्याद थप भइसकेको छ, अहिले धुलो उडेर यहाँका वासिन्दादेखि पर्यटक समेतले सास्ती व्यहोर्नुपरेको छ, त्यसैले कि त छिटो निर्माण सम्पन्न गर्नुपर्‍यो, कि त ठेक्का रद्द गर्नुपर्‍यो भन्ने माग राखेर आन्दोलनस्वरूप सडक बन्द गराएका हौं ।’

उनले निर्माण अलपत्र पार्दा यहाँको पर्यटन व्यवसाय र आर्थिक विकास १५ वर्ष पर धकेलिएको छ भन्दै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्नुपर्नेमा उल्टै सडकको लागत बढाइदिँदै म्याद थपिदिएर पुरस्कार दिए जस्तै गरेको गुनासो गरे ।

नगरकोटस्थित चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले वर्षाैंदेखि जनताले आन्दोलन गरे पनि कुनै पनि सरकारले स्थानीय वासिन्दाको पीडालाई नबुझेको बताए । स्थानीय वासिन्दा र व्यवसायीले सडक बन्द गराएर निर्माण गर्न दबाब दिएको भन्दै सरकारले निर्माण व्यवसायीलाई निर्माण छिटो सम्पन्न गर्न दबाब दिनुपर्नेमा उनले जोड दिए ।– रमेश गिरी/रासस

salt training

कमेन्ट गर्नुहोस्