
आफ्नी पत्नी बबिता बानियाँ (जेरी)विरुद्ध शंकर क्षेत्रीले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद (डिभोर्स)सम्बन्धी मुद्दा दर्ता गरेका छन् । लोकदोहोरीमा चर्चित यो जोडीको डिभोर्सको तयारीको खबरलाई शुभचिन्तकहरुले चासो र चिन्ताका साथ हेरिरहेका छन् । मुद्दा दर्ता भए पनि उनीहरुबीच डिभोर्स भने भइसकेको छैन ।
यसैबीच, गायक शंकर क्षेत्रीले आफूहरूको दाम्पत्य जीवनबारे मिडियामा धारणा राखिरहेका छन् । सो क्रममा उनले आफूहरूको विचार नमिल्दा डिभोर्सको निर्णयमा पुगेको बताएका छन् । यद्यपि, आफूहरू छुट्टिनुपरोस भन्ने अवस्थामा आफू नरहेको उनले बताएका छन् । ‘आफ्नो श्रीमती हो, छोरी छ । सकभर उहाँहरूसँग छुट्टिनुपरोस भन्ने मलाई पनि छैन । परिस्थितिले त्यस्तो अवस्थामा लग्यो । विचारहरू मिलेन । विचारहरू नमिल्दै जाँदा जहिले पनि झै–झगडा हुन थाल्दा कहिलेसम्म नराम्रो हुने त भन्ने महसुस भएर निर्णय लिएको हुँ’, शंकरले भनेका छन् ।
उनले केस फाइल गर्दैमा आफूले नै डिभोर्स चाहेको भन्न नहुने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘म मिल्न पनि चाहान्छु । कसैको श्रीमती भइसकेपछि, बच्चाको आमा भइसकेपछि, कुनै घरको बुहारी भइसकेपछि उहाँको पनि केही दायित्वहरु हुन्छन् होला । केही कर्तव्यहरू हुन्छन् होला । ति कुराहरुलाई मनन् गरेर अझै पनि उहाँ मिल्छु भनेर आउनुहुन्छ भने म मिल्न तयार छु ।’
शंकरले भनेअनुसार ‘जेरी’ केही महिनायता लगातार माइतमा बस्दै आएकी थिइन् । उक्त कुराले पनि आफूहरूको सम्बन्धमा चिसोपना ल्याएको शंकर बताउँछन् । अझै पनि मिलेर जाऔँ भन्ने आफ्नो चाहाना रहेको उनको भनाइ छ । शंकरले आफ्नो भनाइहरू सार्वजनिक गरिरहँदा बबिता भने मौन देखिएकी छन् ।
शंकर र बबिता ‘लाइभ दोहोरी’बाट चर्चामा आएका हुन् । उनीहरूले पाँच वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । उनीहरूको दुई वर्षीया एक छोरी छिन् ।
तस्वीर ः सामाजिक सञ्जालबाट