
काठमाडौं, २४ साउन — आजकलको व्यस्त जीवनशैलीका कारण बेस्सरी थकाइ लाग्छ तैपनि आराम गर्ने फुर्सद पाइँदैन । आराम गरेर थकाइ मेटाइएन भने भोलिपल्ट काम गर्नै गाह्रो हुन्छ । यहाँ हामी थकाइ मार्ने सजिला उपाय सिकाउँदैछौं ।

थकान हटाउन पानीको महत्त्वपूर्ण भूमिका हुन्छ । तातो पानीको बोतलले थकाइ लागेको भागमा सेक्दा आराम पाइन्छ र थकाइ पनि भाग्छ ।
काम गरिरहेका बेलामा चिसो पानीले हातमुख धुनुस् र आँखामा पानीका छिटा पार्नुस् । काम गर्दाखेरी आरामको अवसर पाउनुभएन भने आँखा बन्द गरेर त्यसमाथि हत्केला राख्नुस् । त्यसो गर्दा पनि धेरै आराम पाउनुहुन्छ र थकान पनि कम हुन्छ ।
सकारात्मक विचार राख्ने, राम्रा क्षणहरू सम्झिने, सधैं खुशी रहने, सेन्स अफ ह्युमर विकसित गर्ने गर्दा पनि थकाइ लाग्दैन । अर्काको डाढ गर्ने, आफूलाई तुच्छ सम्झिने र छिनछिनमा रिसाउने मानिसले शारीरिक र मानसिक थकान बेहोर्छन् । यस्ता कुराबाट बच्दा थकान कम हुन्छ ।
लामो समयसम्म उभिने मानिसको गोडामा पीडा हुन थाल्छ । तातोपानीमा अलिकति नून हालेर त्यसमा गोडा डुबाउँदा पनि आराम पाइन्छ ।
काम गर्दागर्दै कम्मर दुख्न थाल्यो भने पल्टिनुस् । चिन्तामुक्त भएर शरीरलाई हलुका छोडिदिनुस् । केही क्षणमै तपाईं ताजा महसूस गर्न थाल्नुहुनेछ ।
एजेन्सी