तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेचेका हुन् ।
गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । उनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पु¥याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो ।” यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उनले बताए । तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उनले बताए ।