१४ असार २०८३, आइतबार

चितवनमा नियमित स्तनपान गराउनेको संख्या बढ्दै

कात्तिक १६, २०७९
चितवनमा नियमित स्तनपान गराउनेको संख्या बढ्दै
प्रतिकात्मक तस्वीर

चितवन जिल्लामा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो ३ वर्षको तथ्यांकलाई हेर्दा शिशु जन्मिएपछि ६ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या बढ्दै गएको हो ।
 
स्वास्थ्य कार्यालय चितवनले प्रकाशन गरेका वार्षिक प्रगति प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ३० प्रतिशत बालबालिकाले ६ महिनासम्म पूर्ण स्तनपान गरेका छन् । यो संख्या आर्थिक वर्ष २०७७/७८ मा १९ दशमलव ३ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा यो संख्या १७ दशमलव २ प्रतिशत रहेको थियो ।
 
३ आर्थिक वर्षमा ६ महिनापछि पुरक खाना खुवाउनेको संख्या पनि बढ्दो क्रममा रहेको कार्यालयको तथ्यांकले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत गीतागञ्जली ढकालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा पुरक खाना खुवाउनेको संख्या ३२ दशमलव ६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या १७ दशमलव ९ प्रतिशत रहेको थियो भने २०७६/७७ मा १४ दशमलव ९ प्रतिशत थियो ।
 
कार्यालयले गरेको वृद्धि अनुगमनका क्रममा १ दशमलव २ प्रतिशत बालबालिकामा कम तौल भएको पाइएको ढकालले जानकारी दिइन् । कम तौल हुनेमा राप्ती नगरपालिकामा धेरै छन् । 

आर्थिक वर्ष २०७७/७८ मा यस पालिकामा १० दशमलव ६ प्रतिशत बालबालिकामा कम तौल रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ३ दशमलव ५ मा झरेको छ । यो संख्या आर्थिक वर्ष २०७६/७७ मा ६ दशमलव ६ प्रतिशत रहेको थियो ।
 
शिशु जन्मिएको ६ महिनासम्म नियमित स्तनपान गराउँदा स्वस्थ पौष्टिक तत्व पाउने भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. खेमराज पौडेलले जानकारी दिए । उनका अनुसार नियमित आमाको दूध सेवनले बच्चामा रोगसँग लड्नसक्ने क्षमता वृद्धि गर्ने, अन्य रोगको संक्रमण कम हुने, बच्चाको वृद्धि विकास छिटो हुने गर्दछ ।
 
आमाले आफ्नो शरीरको बनावट बिग्रने बहानामा बच्चालाई दूध खुवाउन छाड्ने गरेको भन्दै उनले त्यसो गर्नु बाल स्वास्थ्यका लागि नराम्रो भएको उनको भनाइ छ । ६ महिनापछि पूरक खाना खुवाउँदा बच्चालाई थप पौष्टिक तत्व लिटो, जाउलो, भैंसीको दूध खुवाउँदा बालबालिका बढ्न सहयोग पुग्ने उनले बताए ।

आमाको दूधबाट अपुग हुने पदार्थको पूरक खानाबाट मिल्ने गरेको पौडेलले बताए । उनले भने, ‘६ महिनापछि आमाको दूधले पौष्टिक तत्व पुग्दैन । यसका लागि पूरक खाना खुवाउनुपर्छ ।’

शारीरिक तथा मानसिक रूपमा वृद्धि विकासका लागि पुरक खाना आवश्यक रहेको उनले बताए । बच्चाको खानपानमा ध्यान नदिँदा तौलमा कमी आउने डा. पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्