
पछिल्लो ५ वर्षदेखि सञ्चालनमा आएको १ नम्बर प्रदेशको उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।
विक्रम संवत् २०७४ सालमा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेशको १ मात्र जैविक मल उद्योग सञ्चालनमा आएदेखि नै घाटामा चल्दै आएको छ ।
३ करोड ५० लाखको लगानीमा १५ वटा कृषि सहकारी संस्था र ३ वटा किसान समूहले १ बिघा क्षेत्रफल भाडामा लिएर उद्योग सञ्चालनमा ल्याएका हुन् । जैविक मल उद्योग काठमाडौंले उपत्यका बाहिर १ नम्बर प्रदेशमा शाखा सञ्चालनमा ल्याए पनि प्रदेशमा नै बजार नपाउँदा उद्योग घाटामा चलिरहेको हो ।
प्रतिघण्टा १ टन मल उत्पादन गर्ने क्षमता रहेको उद्योगले माग नभएका कारण वार्षिक ३०० टन मात्रै मल उत्पादन गरिरहेको छ । मलको अभाव र माटोको संरक्षण गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उद्योगले सरकार र स्थानीय पालिकाको सहयोग नपाएका कारण बन्द हुने अवस्थामा पुगेको हो तर यता सरकारले छठलगत्तै ६० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने भएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री कम्पनीले तिहार र छठ सकिए लगत्तै युरिया र डीएपी मल भित्र्याउने कम्पनीका प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
पथरी शनिश्चरेका पूर्व नगर प्रमुख दिलीपकुमार राईले वार्षिक १० लाखको मल खरिद गरी किसानलाई वितरण गर्दै आएका थिए तर उक्त सहयोग पनि नयाँ जनप्रतिनिधि आएलगत्तै रोकिएपछि उद्योग संकटमा परेको छ । सरकारले बाहिरबाट खरिद गर्ने रासायनिक मलको सट्टा जैविक मलको प्रयोग गरे बाहिरिने अर्बौं रुपैयाँ रोकिने उद्योगका सञ्चालक कृष्णचन्द्र महर्जन बताउँछन् । जैविक मलमा सरकारले चासो देखाए, किसानलाई अभिप्रेरित गरे माटोको सुरक्षा र अन्न उत्पादनमा वृद्धि हुने उनले बताए ।